विकल्प न्यूज/जलजला
बैशाख २८ गते ।
पर्वतकोे जलजला गाउँपालिका ७ मिलनचोक–सल्यान–ठोटनेरी सडक अलपत्र पर्ने ठेकेदारलाई पूर्वाधार विकास कार्यालय पर्वतले सार्वजनिक सूचना मार्फत स्पष्टिकरण साधेको छ । योजना सम्पन्न गर्न सम्झौता गरेको ठेकेदार हिमदुङ एण्ड ठोकर निर्माण सेवालाई कार्यालयले सार्वजनिक सूचना मार्फत स्पष्टिकरण मागेको हो ।
उक्त सडक गण्डकी प्रदेश सरकारले चारवर्ष अघि नमुना सडक कार्यक्रम अन्तर्गत स्तोरन्नति सहित कालोपत्रे गर्ने योजना अघि सारेको थियो । पटक पटक योजना सम्पन्न गर्न म्याद थप भएतापनि हालको मिति सम्म लिखित,मौखिक,तथा फोन सम्पर्क गर्दा निर्माण कम्पनीबाट कुनै प्रतिक्रिया प्राप्त नभएको,कार्य प्रगति सन्तोषजनक नभएकोप्रति कार्यालयको गम्भिर ध्याआकर्षण भएको सूचनामा उल्लेख गरिएको छ ।
सूचना भनिएको छ,‘ठेक्का सम्झौता शर्त बमोजिम कार्य सम्पादन जमानत रकम तथा अग्रिम बैंक जमानत रकम जफत गरी सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ७ बमोजिम र सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२८ मा भएको प्रावधान बमोजिम कालो सूचिमा राख्ने सम्बन्धि कारवाही अगाडी किन नबढाउने ?’ कार्यालयले १० दिनभित्र लिखित स्पष्टिकरण मागेको छ ।
स्पष्टिकरण तोकिएको समयभित्र प्राप्त नभएमा वा चित्तबुझ्दो नभएमा तथा १५ दिनभित्र कार्य सुरु नगरेमा जमानत वापतको रकम जफत गरी उल्लेखित नियम अनुसार ठेक्का अन्त्य गरी कालोसूचिमा राख्ने सम्बन्धि प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख गरिएको छ ।
उक्त योजना जलजला गाउँपालिकाका पूर्व अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) पेटी ठेक्का लिएका थिए । गाउँपालिकाका अध्यक्ष समेत भइसकेका व्यक्तिले योजना अलपत्र पारेको भन्दै स्थानीयहरुले दुईमहिना अघि ठेकेदारको फोटो सहित विरोध प्रदर्शनमा उत्रिएका थिए । योजना अलपत्र पारेर ठेकेदार वेपत्ता भएको स्थानीयहरुले बताएका छन् ।
समयमै सडक योजना सम्पन्न नहुँदा सर्वसाधरणहरुले जोखिमपूर्ण यात्रा गर्नुपरेको र स्थानीयवासीहरुको घर,खानेपानी,विद्यालय पहिरोको जोखिममा परेको स्थानीयहरुको भनाई छ । सडक अधुरो हुँदा आवत जावतमा सास्ती, दुर्घटनाको जोखिम, पहिरो र भुक्षयको समस्या बढेको स्थानीयवासीहरुको भनाई छ ।
हाल नुवाकोटको क्षेत्र (ख)बाट निर्वाचित नेपाली कांग्रेसको बागमती प्रदेशसभाको संसदीय दलको नेता समेत रहेका बहादुरशिंह लामा सञ्चालक रहेको सो कम्पनीले दुईवर्ष भित्र निर्माण सक्नेगरी २०७६ मंसिर ६ गते २८ करोड १३ लाख रुपियाँमा १० किलोमिटर सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालय पर्वतसँग ठेक्का सम्झौता गरेको थियो ।
५ मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्रे हुने सडक सात मिटर र एक मिटर नाली बनाउने लक्ष्य छ । अधिकांश भागमा विस्तार, ग्रेड मिलाउने, घुम्ती सुधार गर्ने, नाली बनाउने काम सकिएको सडकको मिलनचोक देखि सल्यान खण्डमा ग्राभेल समेत गरेर कालोपत्रको तयारी गरिएको भएपनि वर्षातका समयमा आएको बाढी र पहिरोले बगाएर लगेको छ ।