धाइरिङको मिलनचोकमा पदमार्ग निर्माण

विकल्प न्यूज/जलजला
बैशाख २५ गते ।


म्याग्दीको बेनी सँगै जोडिएको पर्वतको जलजला गाउँपालिका ७ स्थित धाइरिङमा कालिगण्डकी घाटमा जाने पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गत पर्यटन मन्त्रालयबाट चालु आर्थिक वर्षमा विनियोजन भएको १५ लाख रुपियाँले मिलनचोक देखि भेडाबारी शिवालय मन्दिर सम्म पदमार्ग निर्माण गरिएको हो । पदमार्ग निर्माण भएपछि दाहासंस्कारका लागि शव बोकेर कालिगण्डकी नदीको तिरमा रहेको घाटसम्म पुग्न स्थानीयलाई सहज भएको छ ।

ढलान गरेर रेलिङ सहित डेढ मिटर फराकिलो एकसय ३८ मिटर लामो पदमार्ग निर्माण गरिएको पदमार्ग निर्माण समितिका अध्यक्ष रुद्रलाल आचार्यले जानकारी दिनुभयो । यस स्थानमा साघुरो बाटो भएकाले विगतमा जोखिम मोलेर कालिगण्डकी घाटसम्म पुग्न स्थानीयहरु बाध्य थिए,उपभोक्ता समितिका अध्यक्ष आचार्यले भन्नुभयो, ‘‘पदमार्ग निर्माण भएसँगै मलामीलाई आवतजावत गर्न सहज भएको छ ।’’
स्थानीय हरी आचार्यले भन्नुभयो, ‘‘विगतमा मलामी जाने बाटो अफ्ठ्यारो थियो,साघुरो र बर्खायाममा हिलो हुँदा शब बोकेर हिड्न निकै कठिन हुन्थ्यो । वडाको पहलमा प्रदेश सरकारले बजेट विनियोजन गरेर बाटो निर्माण गरेपछि निकै सहज भएको छ ।’’ कालिगण्डकी तिर देखि भुमेथान सम्म नै पदमार्गको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

 

प्रदेश सरकारले आगमी वर्षहरुमा पनि बजेट विनियोजन गरिदिए कालिगण्डकीको तिर देखि सल्यान,गुन्टेखेत,धारापानी हुँदै भुमेथान सम्म पदमार्ग निर्माण गर्ने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो । पदमार्ग निर्माण भएपछि दाहसंस्कारका लागि कालिगण्डकी नदीमा शव लैजान सहज हुनुका साथै भुमेथान दर्शनका लागि जाने धार्मिक पर्यटकलाई पनि पैदलयात्रा सहज हुने आचार्यको भनाई छ ।