ठाकुरप्रसाद आचार्य/बेनी
बैशाख २२ गते ।
पत्रकारहरुले पेसागत मर्यादालाई ख्याल गर्दै स्वतन्त्र,निष्पक्ष र व्यावसायिक पत्रकारितालाई अगाडी बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
शुक्रबार बेनीमा भएको नेपाल प्रेस युनियन म्याग्दी शाखाको आठौं साधारणसभा तथा छैठौं अधिवेशनमा बोल्ने वक्ताहरुले संचार माध्यम र पत्रकारहरुले व्यवसायिक मर्यादालाई ख्याल गर्दै इमान्दार भएर कलम चलाउनुपर्नेमा जोड दिएका हुन ।
अधिवेशनमा प्रतिनिधिसभाका सदस्य खमबहादुर (खम्बिर) गर्बुजाले लोकतान्त्रिक आन्दोलन,शुसासन र आर्थिक विकासका लागि नेपाली प्रेस जगतले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । प्रेसका कमीकमजोरीहरु भएपनि आगमी दिनमा सुधार गर्दै प्रेस जगतलाई बलियो बनाउनुपर्ने उहाँले विचार व्यक्त गर्नुभयो । प्रेस जगत बलियो भयो भने मात्र लोकतन्त्र बलियो र संस्थागत हुने उहाँको भनाई थियो ।
प्रेसलाई मर्यादित,सन्तुलित बनाउँदै दिगो व्यवस्थापनका लागि आवश्यक पर्ने नीति,नियम,कानून र ऐन निर्माणका लागि आफूले पहल गर्ने उहाँको भनाई थियो । मोफसलमा रहेका सञ्चार माध्यमको विकास र पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि स्थानीय र प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्ने सांसद गर्बुजाको भनाई थियो ।
नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष ऋषिकान्त पौडेलले नेपालको राजनीतिक आन्दोलन,आर्थिक विकास र सामाजिक क्षेत्रमा प्रेस जगतले खेलेको भूमिकालाई सम्मान गर्दै पत्रकारहरुको क्षमता विकास र सञ्चारमाध्यमको दिगो व्यवस्थापनका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । उहाँले मोफसलमा रहेका स्वरोजगारमुलक संचारमाध्यमलाई बलियो बनाउन सरकारले दिने लोककल्याणकारी विज्ञापनलाई अझ व्यवस्थित बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
कोरोना महामारीका कारण मोफसलका सञ्चारमाध्यमहरु संकटमा परेको बताउँदै उहाँले भन्नुभयो, ‘आर्थिक संकटका कारण कतिपय सञ्चारमाध्यमहरु बन्द हुने अवस्थामा पुगेका छन् । पत्रकारहरुको रोजीरोटी खोसीएको छ । त्यसैले,संचारमाध्यमको संरक्षण र पत्रकारहरुको क्षमता विकासका लागि स्थानीय,प्रदेश र संघीय सरकार गम्भिर बन्नुपर्दछ ।’
गण्डकी प्रदेश सांसद विमला गौचनले पत्रकारहरुले जिल्लाको विकास र समृद्धिका पक्षमा कलम चलाउनुपर्ने बताउनुभयो । पत्रकारहरु राजनीतिक दलको प्रभावबाट मुक्त भएर स्वतन्त्र,निष्पक्ष र सन्तुलित भएर कलम चलाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
अधिवेशनमा प्रेस युनियनका महासचिव दिलिप पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन,सामाजिक परिवर्तन र शुसासनका पक्षमा नेपाली प्रेसले खेलेको भूमिकालाई नजरअन्दाज गर्न नमिल्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले राजनीतिक क्षेत्रमा भएका विकृति र शुसासनका पक्षमा प्रेसको खबरदारीका कारण सरकारको आँखा खुलेको बताउनुभयो । पत्रकारहरुले पनि आफूमा भएको कमिकमजोरीहरुलाई सुधार गर्दै व्यावसायिक र मर्यादित पत्रकारितालाई अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
संविधानसभा सदस्य रेशम बानियाँले म्याग्दीमा पत्रकारहरुले खेलेको भूमिका सकरात्मक भएको बताउनुभयो । अधिवेशनमा, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, प्रेस युनियनका केन्द्रिय सचिव नरहरी सापकोटा,सदस्य माया अधिकारी,गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारी, प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रताप बानियाँ,प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्री,म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ र ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष कोमलप्रसाद उपाध्यायले व्यवसायिक र मर्यादित पत्रकारितामा जोड दिँदै कोरोना महामारीका कारण समस्यामा परेका पत्रकार र संचारमाध्यमको सवलीकरणका लागि जोड दिनुभएको थियो ।
अधिवेशनका अवसरमा प्रेस युनियन म्याग्दीले स्थापना गरेको अध्यक्षकोषबाट अग्रज पत्रकारद्धाय अजयमिलन श्रेष्ठ र विक्रम बोगटीलाई दोसल्ला,सम्मानपत्र र नगद पुरस्कारले सम्मान गरिएको थियो । प्रेस युनियनका उपाध्यक्ष धनिलाल गर्बुजाको स्वागत,अध्यक्ष राकेश शर्माको अध्यक्षता र सचिव साधन राम्जालीको संचालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो । अधिवेशनले आगमी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने प्रेस युनियनले जनाएको छ ।