एकै परिवारका चार दिदीबहिनी सरकारी सेवामा

बेनी, १९ वैशाख ।

 अन्नपूर्ण गाउँपालिका–८ राम्चेको रच्चान टोलमा थोरै घरहरु छन् । मुलगाउँदेखि केहि तलको यसै टोलमा ओमबहादुर पुर्जाको परिवारको पनि बसोबास रहेको छ । आफ्नो जीवनको अधिकाँश समय गोठ बसेर घरखर्च जुटाउनुभएका पुर्जाका चार छोरी र एक छोरा छन् । ओमबहादुर र उहाँकी जीवनसाथि राममायाँले गोठमा गाईभैँसी पालेर छोराछोरीको पढाइलेखाई गराउनुभएको थियो ।

जति संघर्ष गरेर छोरा–छोरीहरुको हुकाई, पढाई गरे पुर्जा दम्पतीले, उस्तै सन्तोषको नतिजा पनि पाएका छन्, आफ्ना सन्ततिबाट । पुर्जा दम्पतीका चार छोरीहरु नै अहिले सरकारी सेवामा छन् । कान्छि छोरी स्मृति काठमाण्डौ उपत्यका विकास प्राधिकरणको लेखा अधिकृत (अधिकृत सातौँ तह)मा कार्यरत हुनुहुन्छ । व्यवस्थापन र कानुन तर्फ स्नातकोत्तर अध्ययनरत उहाँले २०७६ देखि सरकारी सेवामा लोकसेवा आयोग उर्तिण गरेर प्रवेश गर्नुभएको हो ।

अन्य तीन दिदीबहिनी भने स्थायी शिक्षण पेशामा हुनुहुन्छ । शिक्षक सेवा आयोगको–२०७९ को परिक्षामा उर्तिण भएर जेठी छोरी कल्पना र साँहिली निलमले प्राथमिक तहमा स्थायी हुनुभएको छ । माहिली छोरी चन्दाले पनि गत बर्षकै शिक्षक सेवा आयोगको परिक्षा उत्तिण भएर निमावि तहमा स्थायी हुनुभएको छ । उहाँले २०७१ मा प्रावि स्थायी भएर शिक्षण गर्दै आउनुभएको थियो । कल्पना र चन्दाले स्नातक तह उर्तिण गर्नुभएको छ भनेर निलमले स्नातक तहको अध्ययनलाई शिक्षण संगसंगै अगाडी बढाउनुभएको छ ।

शिक्षक पदमा स्थायी भएका तीन दिदी बहिनीमध्ये चन्दा र निलम अस्थायी र करारमा नियुक्त भएर शिक्षण पेसामा आबद्ध भएपनि कल्पना भने एक दशक बढी समय सञ्चारकर्मीको रुपमा काम गरेर शिक्षण पेसामा लाग्नुभएको हो । म्याग्दी सदरमुकाम बेनीको म्याग्दीकाली एफएम, रेडियो म्याग्दी हुँदै पर्वतको रेडियो दिदीबहिनी र पोखराको रेडियो जननीमा १२ बर्ष सञ्चारकर्ममा विताउनुभएकी पुर्जाले शिक्षक बनेर सेवा गर्ने रुचि जागेपछि शिक्षण पेसामा फर्किएको बताउनुभयो ।

‘‘ सञ्चार क्षेत्रमा लागेर आफ्नो अध्ययनलाई पनि संगसंगै अघि बढाएँ, आफुले पढेका र सिकेका धेरै कुराहरु अब बालबालिकाहरुलाई सिकाउने पेसामा छु,’’–पुर्जाले भन्नुभयो । स्थायी शिक्षक बनेका तीन दिदी बहिनी मध्ये कल्पना अन्नपूर्ण –५ शिखको शिख माविमा नियुक्त हुनुभएको छ भने चन्दा र निलम आफैले प्रारम्भीक तहको शिक्षा लिएको देउराली आधारभुत विद्यालयमा कार्यरत हुनुहुन्छ । पुर्जा दम्पतीका एक मात्रै छोरा मिनबहादुर भने १२ कक्षा सम्मको अध्ययन पुरा गरेर थप अध्ययन र रोजगारको लागि जापान पुग्नुभएको छ ।

जीवनका संकट र सकसपूर्ण अवस्थाका बिच छोराछोरीलाई शिक्षा दिलाउन सफल भएका पुर्जा सम्पतीको दैनिकी अहिले सहज भएको छ । गोठथरी छाडेर उहाँहरु अहिले घरमै सामान्य खेतिकिसानीमा रमाउनुभएको छ । ‘‘ धेरै सन्तान भएपछि उनीहरुलाई हुर्काउन, बढाउन, पढाउन निकै संघर्ष भयो, आम्दानीको स्रोत थिएन, गोठमा गाईभैँसी पालेर घिउ, र बस्तुभाउ बेचेर हुने आम्दानीले उनीहरुको पढाई खर्च जुटाउनुपथ्र्यो, अहिले सबै छोरीहरु सरकारी जागिरे बनेका छन, हामीलाई ठूलो सन्तोष मिलेको छ’’–बुबा ओमबहादुरले भन्नुभयो ।

मगर समुदायमा उच्च शिक्षा अध्ययन पछि विकसित मुलुकमा जाने लहर चलिरहेको समयमा दुर्गम ग्रामिण बस्तिको रुपमा परिचित राम्चेका चार दिदीबहिनीको सरकारी सेवामा भएको प्रवेशले नयाँ विद्यार्थिहरुमा स्वदेशमै संघर्ष गर्ने प्रेरणा दिएको देउराली आधारभूत विद्यालयका प्रधानध्यापक अविर गर्वुजाले बताउनुभयो ।
‘‘चारै जनाले आधारभूत तहको शिक्षा यसै विद्यालयबाट लिएका हुन, सानैदेखि उहाँहरुमा अध्ययनप्रति रुचि थियो, अहिले दुई जना यसै विद्यालयमा स्थायी शिक्षक भएर आउनु गौरवको बिषय हो, अन्य विद्यार्थीहरुको लागि पनि उहाँहरुको दिदीवहिनीहरु उदाहरण बन्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ’’–प्रअ गर्वुजाले भन्नुभयो । रासस