चौँरीको आलो रगत पिउने मेलामा सर्वसाधारणहरुको भीड

ठाकुरप्रसाद आचार्य/बेनी
बैशाख १३ गते ।

हिमाली क्षेत्रमा पाइने जडीबुटी खाएका चौँरी गाईको आलो रगत खाएमा रोगहरु निको हुने विश्वासले मुस्ताङको बोक्सी खोलाको सिन्जे भन्ने स्थानमा चौँरीको आलो रगत पिउने मेला लागेको छ । चौँरी पालक कृषकहरुको संस्था हिमालयन चौंरी पालक तथा संरक्षण समितिले मेलाको आयोजना गरेको हो ।

थासाङ गाउँपालिका–२ बोक्सी खोलामा लागेको मेलामा करिब चारसय सर्वसाधारणहरु चौँरीको रगत खान भेला भएका छन् । हिमाली खर्कमा पाइने यार्सागुम्बा, पाँचऔँले, जटामसीलगायत जडीबुटी खाएका चौँरीगाईको रगत खाएमा ग्याष्टिक,कमलपित्त, सुन्नेको र छालासम्बन्धी रोग निको हुने विश्वासले टाढाटाढा देखि सर्वसाधारण मेला पुगेका हुन ।

चौँरीपालक किसानहरुले यसलाई रोग निको पार्ने प्राकृतिक उपचार पद्धति भनेर दावी गर्दछन् । ‘‘हाम्रा पुर्खाहरुले चौँरीलाई स्वास्थ राख्नका लागि वर्षमा दुईपटक रगत निकालेर फाल्ने गर्दथे’’, हिमालयन चौरी पालन तथा संरक्षण समितिका सदस्य बुद्धीरत्न तुलाचनले भन्नुभयो, ‘‘त्यतिबेलाका पुर्खाहरुले चौँरीको रगत खाँदा शरिरमा भएको रोगहरु निको हुनथालेपछि रगत पिउने प्रचलन सुरु भएको हो । यो हाम्रो वर्षौदेखिको पुख्र्यौली प्रचलन हो ।’’ एक गिलास आलो रगतको तिनसय रुपियाँ मूल्य तोकेका छौं ।’’

उहाँका अनुसार शनिबार देखि लागेको मेला एकहप्ता सम्म सञ्चालन हुने छ । मेलामा आएकाहरु एकगिलास रगत खाएर फर्किने गर्दछन् भने कसैले एकहप्ता सम्म बसेर दिनदिनै रगत खाने गरेको उहाँले बताउनुभयो । कृषकहरुले रगत विक्री गरेर आम्दानी समेत गर्ने गरेको उहाँले बताउनुभयो ।

वर्षमा दुईपटक रगत निकालेपछि चौंरीको स्वास्थ्य पनि राम्रो हुने र रगत पिएपछि मानिसको रोग निको हुने विश्वास छ । एउटा वयस्क चौंरीबाट पाँच देखी दश गिलास सम्म रगत निकाल्ने गरिन्छ ।

चौँरीको रगत निकाल्ने व्यक्तिलाई स्थानीय भाषामा आम्जी भनेर भन्ने गरिन्छ । आम्जीले जिउँदो चौँरीलाई नियन्त्रणमा लिई घाँटीमा सुइरोले नशामा कोपेर रगत निकाल्ने गरिन्छ । पुर्खौ देखि चौँरीको रगत निकाल्ने सीप सिकेका उनीहरुलाई चौँरी पालकहरुले आफ्नो भाषामा आम्जीलाई डाक्टर भन्ने गर्दछन् । मेलामा दुईजना आम्जी रगत निकाल्न खटिएका छन् ।

रगत पिउन मुस्ताङका साथै म्याग्दी,पर्वत,बागलुङ,पोखरा,काठमाण्डौं,चितवन र बुटबल लगायतका जिल्लाहरुबाट सर्वसाधरणहरु आएको हिमालयन चौंरी पालन तथा संरक्षण समितिका अध्यक्ष समेत रहनुभएका थासाङ गाउँपालिका २ कोबाङका वडाध्यक्ष गौतम शेरचनले बताउनुभयो ।

कोरोना महामारीका कारण विगत चारवर्ष देखि मेला रोकिएको थियो, उहाँले भन्नुभयो, ‘‘लामो समय पछि लागेको मेलामा सर्वसाधारणहरुको निकै भीड लागेको छ । हिमालयन चौँरी पालन तथा संरक्षण समिति अन्तर्गत करिब एकहजार पाँचसय चौंरीहरु रहेको समितिका अध्यक्ष गौतम शेरचनले जानकारी दिनुभयो ।

चौँरीलाई स्वस्थ राख्नका लागि पनि वर्षमा एकपटक रगत निकाल्नुपर्ने उहाँले बताउनुभयो । रगत बढी भयो भने चौँरी अस्वस्थ हुन्छ । चौँरीको मेला बाउबाजेको पाला देखि लगाउन थालिएको उहाँको भनाई छ । यातायातको सुविधा नहुँदा पहिला म्याग्दी,बागलुङ,पर्वत र पोखरा देखि पनि पैदल हिडेर रगत खान आउने गरेको उहाँले सुनाउनुभयो ।
अहिले सडक सुविधाका कारणले मेलामा आउने सर्वसाधारणहरुको संख्यामा वृद्धि भएको वडाध्यक्ष शेरचनाको भनाई छ । चौँरी पालक कृषकहरुले बैशाख र साउन गरी वर्षमा दुईपटक चौँरीको रगत खाने मेला आयोजना गर्दै आएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

तस्विहरुWangyal Gurung को फेसबुकबाट