समयमै पाठ्यपुस्तक पाएपछि विद्यार्थीहरु खुसी

ठाकुरप्रसाद आचार्य/म्याग्दी
बैशाख १० गते ।

 नयाँ शैक्षिक सत्रको पढाई सुरु भएकै दिन पाठ्यपुस्तक हातहातमा पाएपछि विद्यार्थीहरु खुसीले फुरुङ भएका छन् । यस वर्ष भर्नासँगै विद्यार्थीले पाठ्यपुस्तक पाए । हातहातमा पुस्तक पाएपछि विद्यार्थीहरु खुसीसँगै उत्साहित भए । विगतका वर्षहरुमा लामो समयसम्म पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्दैनथ्यो । समयमै पाठ्यपुस्तक वितरण भएपछि शैक्षिक गुणस्तरमा वृद्धि हुने विश्वास गरिएको छ । जिल्लाको दुर्गम धवलागिरी गाउँपालिका १ गुर्जामा पनि पाठ्यपुस्तक पुगेका छन् ।

विगतका वर्षहरुमा पुस्तक अभावमा पढाई समेत प्रभावित हुनेगरेमा यस वर्ष समयमै पुस्तक पाएपछि पठनपाठनमा पनि सहज भएको विद्यालयहरुले जनाएका छन् । यसवर्ष सामुदायिक विद्यालयका १ देखि कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई आवश्यक पर्ने पाठ्यपुस्तकहरु विद्यालयहरुमा पुगिसकेका छन् । जिल्लाको दुर्गम धवलागिरि गाउँपालिकाका सवै विद्यालयहरुमा पाठ्यपुस्तक पुगिसकेको र वितरण भइरहेको पालिकाका शिक्षा अधिकृत खेमराज सु्वेदीले बताउनुभयो । जिल्लाको दुर्गम वडा गुर्जामा पनि पाठ्यपुस्तक पुगेको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

ADV

समयमै पुस्तकहरु विद्यार्थीहरुको हातमा पुगेपछि शैक्षिक गतिविधिमा सहज भएको अन्नपूर्ण गाउँपालिका ३ दाना स्थित ज्ञानप्रकाश माविका प्रधानाध्यापक शान्त नेपालीले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा अध्ययनरत सवै विद्यार्थीहरुले पाठ्यपुस्तक पाएका छन् ।
‘शैक्षिक सत्र सुरु भएको पहिलो दिनमै पुस्तकहरु पाउँदा विद्यार्थी,अभिभावक र शिक्षकहरु पनि खुसी हुनुभएको छ,’उहाँले भन्नुभयो । भर्ना सँगै पुस्तक पाएपछि बालबालिकाहरु निकै खुसी भए प्रअ नेपालीले भन्नुभयो, ‘‘ विद्यालयमा भर्ना हुन आएका विद्यार्थीहरुलाई भर्नासँगै हातमा पुस्तक दिएपछि खुसी हुँदै घर फर्किए ।’’

शैक्षिक सत्रको शुरूआतमै भर्ना भएसँगै पढ्नका लागि हातहातमै पाठ्यपुस्तक पाउँदा खुशी लागेका विद्यार्थीहरुले सुनाए । विद्यालयमा भर्ना हुने समयमा विद्यार्थीको हातमा पुस्तक दिन पाउँदा निकै खुशी लागेको बेनी सामुदायिक विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठले बताउनुभयो । विद्यालयमा भर्ना अभियान सञ्चालन गरिएको छ,भर्ना सँगै विद्यार्थीहरुलाई पुस्तक पनि वितरण गरिएको उहाँले बताउनुभयो ।

यस वर्ष जिल्लाका सबै विद्यालयमा समयमै पाठ्यपुस्तक उपलव्ध गराइएको शिक्षा विकास तथा समन्वय म्याग्दीका प्रमुख दलबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यालयलाई प्राप्त जानकारी अनुसार जिल्लाका सवै विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले पाठ्यपुस्तक पाइसकेका छन् ।’ यसवर्ष विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध भएसँगै शैक्षिक गुणस्तरमा पनि वृद्धि हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले सामुहिक रुपमा लगानी गरेर जिल्लामा करिब १५ हजार सेट पाठ्यपुस्तक ल्याएका हुन । दुर्गमका विद्यालयहरुलाई पहिलो प्राथमिकतामा राखेर पुस्तकहरु वितरणको व्यवस्था मिलाइएको छ । जिल्लाभर दुईसय ३२ सामुदायिक विद्यालयहरु छन् ।