एमाले म्याग्दीले पार्टी स्थापना दिवस मनायो

विकल्प न्युज/ बेनी

बैशाख ९ गते ।


नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी म्याग्दीले  शनिवार पार्टी स्थापना दिवस मनाएको छ ।

नेपालमा तत्कालीन २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७४ वर्ष पुरा गरी ७५ वर्षमा प्रवेश गरेको सुखद अवसरमा स्थापना दिवस मनाइएको हो ।
दिवसको अवसरमा पार्टी कार्यालय शहिद स्मृति भवन हाँडेभीरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाइएको नेकपा एमाले म्याग्दीले जनाएको छ ।

 

दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थापकहरुको तस्विरमा माल्यार्पण गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापाले पार्टी सङ्गठनलाई बलियो बनाउन सकेमा संस्थापकहरुको सपना पुरा हुने बताइन् ।
पूर्व मन्त्री समेत रहेकी स्थायी कमिटी सदस्य थापाले पार्टीको निर्देशनअनुसार काम गर्नुपर्ने र नेपाली जनताको चाहना पुरा गर्न सकेमा शहिद तथा कम्युनिष्ट पार्टीका संस्थापकहरुले पु¥याएको योगदानको कदरका साथै उहाँहरुको सपना पनि साकार हुनेमा जोड दिइन् ।

नेपालमा स्थापना भएका कम्युनिष्ट पार्टीले नेतृत्व गरेका सरकारहरुले अन्य पार्टीहरुको तुलनामा जनपक्षीय र देश विकासका लागि कामहरु गरेको बताउँदै उनले त्यसमा पनि एमालेको नेतृत्वमा बनेका सरकारले धेरै राम्रा कामहरु गरेको दावी गरेकी छन् ।
कार्यक्रम एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र सचिव सुरत केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला सहइन्चार्ज नरदेवी पुन, एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्यहरु हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ र देवबहादुर घलेको विशेष उपस्थिति रहेको थियो ।
आजभन्दा ७४ वर्षअघि आजकै दिन २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । राणाशासनकै समयमा २००६ साल वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायणविलास जोशी लगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए भने महासचिव पुष्पलाल श्रेष्ठ बने ।

२०१५ सालमा भएको पहिलो आम निर्वाचनमा कम्युनिष्ट पार्टीले ४ सिट जितेको थियो । त्यसक्रममा केशरजङ्ग रायमाझीले पञ्चायती व्यवस्थाको समर्थन गरेलगत्तै कम्युनिष्ट पार्टी औपचारिक विभाजन भएको थियो ।
नेपालका कम्युनिष्ट पार्टीहरु धेरैपटक फुट र जुटको शृङ्खलामा सामेल भएका छन् ।

शृङ्खलाबद्ध टुटफुट र सत्ताकेन्द्रित राजनीतिले नेपालमा कम्युनिष्ट आन्दोलन धरापमा परेको टीका–टिप्पणी हुँदै आएको छ । २०७४ सालको निर्वाचनमा गठबन्धन बनाएर गएका एमाले र माओवादी केन्द्र २०७५ सालको जेठ ३ गते एउटै पार्टी बनाउन सफल भए पनि फेरि अलग पार्टी भए ।
यसअघि शुक्रवार एमाले म्याग्दीको मिसन ग्रासरुटको जिल्लास्तरीय समीक्षा वैठक पनि सम्पन्न भएको छ । वैठकलाई नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापा, केन्द्रीय सदस्य चन्द्रमोहन गौचन, गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ, सन्तोष रावलले समीक्षात्मक मन्तव्यसहित सम्बोधन गरेका थिए ।

समीक्षा वैठक तथा कार्यक्रम पार्टी अध्यक्ष देवेन्द्रबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष बालकृष्ण सुवेदीको स्वागत र उपसचिव थमसरा पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।