कतारकी राजकुमारी र निर्मल अन्नपूर्णको शिखरमा पुग्न सफल

ठाकुरप्रसाद आचार्य/म्याग्दी
बैशाख ३ गते ।

कतारकी राजकुमारी आस्मा अल्थानी र आरोही निर्मल पुर्जाको टोली म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको शिखरमा पुग्न सफल भएको छ । राजकुमारी र पुर्जा सँगै शनिबार ३० जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरे ।

नेपाली समय अनुसार शनिबार करिब ३ बजेतिर उहाँहरु अन्नपूर्णको शिखरमा पुग्न सफल हुनुभएको मौरिस हर्गोज ट्रेल व्यवस्थापन समितिका अध्यक्ष तथा नारच्याङका स्थानीय तेज गुरुङले जानकारी दिनुभयो । गुरुङले दिएको जानकारी अनुसार इलाईट टे«किङ कम्पनी मार्फत नेपाली र विदेशी गरी १० जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन् ।

राजकुमारी र पुर्जा हिमाल आरोहण गरी फर्किएर तिन नम्बर बेशक्याम्पमा आइपुग्नुभएको हिमाल सफाई गर्न बेसक्याम्पमा पुगेको नेपाली सेनाको टोलीलाई उदृत गर्दै गुरुङले बताउनुभयो ।

शनिबार ४ बजेतिर अन्य दुई टोलीले पनि अन्नपूर्णको सफल आरोहण गरेका छन् । गुरुङले दिएको जानकारी अनुसार सभेन समिटका तर्फबाट तिन जना नेपाली र तिनजना विदेशी,इमार्जिङका तर्फबाट ८ जना शेर्पा र ६ जना विदेशी गरी १४ जनाले आरोहण गरेका छन् ।

गत फागुन २२ गते इलाईट टे«ेकिङ कम्पनी मार्फत राजकुमारी अल्थानी अन्नपूर्ण हिमाल आरोहण गर्न म्याग्दी आउनुभएको थियो ।
आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाउनुभएका पूर्जा (निम्स)ले अल्थानीको आरोहण टोलीको नेतृत्व गर्नुभएको थियो । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरी, कञ्चनजंगा, लोत्से, आमादम्बा, मनास्लु, केटुलगायतका हिमालको आरोहण गरिसक्नुभएको छ ।

गत फागुन २३ गते राजकुमारी र पुर्जा आधार शिविर तर्फ लाग्नुभएको थियो दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले भन्नुभयो, ‘‘प्रतिकुल मौसका कारण आरोहण केही दिन रोकिएको, अहिले मौसम अनुकुल भएसँगै उहाँहरु आधार शिविरबाट चुचुरो तर्फ लाग्नुभएको थियो । यसपटक निर्मल र राजकुमारीको आरोहण सफल भएको सूचना पाएको छु ।’’ शेरचनका अनुसार सात  दिनअघि राजकुमारी अल्थानी र पुर्जा आधार शिविरबाट शिखर तर्फ प्रस्थान गर्नुभएको थियो ।

राजकुमारी सहितको टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेपछि स्वदेश तथा विदेशमा प्रचारप्रसार भई पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुगेको अन्नपूर्ण गाउँपालिका ४ वडाध्यक्ष लाेकबहादुर  फगामीले बताउनुभयो । आरोहणले ओझेलमा परेको अन्नपूर्ण आधार शिविरको प्रचार प्रसारमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेक्नुभएको थियो । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो ।

नेपाली सेनाको हिमाल सफाई टोली सहित तिन समुह हिमाल आरोहणका लागि यतिखेर ३ नम्बर बेसक्याम्पमा पुगेको मौरिस हर्गोज ट्रेल व्यवस्थापन समितिका अध्यक्ष तथा नारच्याङका स्थानीय गुरुङले बताउनुभयो । वसन्त ऋतुको पहिलो सिजनमा भएको हिमाल आरोहणले स्वदेश तथा विदेशमा सकरात्मक सन्देश प्रवाह गरेको उहाँले बताउनुभयो ।

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि आठ वटा समूहका ५४ जनाले अनुमति लिएका छन् । मौसम अनुकुल भएसँगै अन्नपूर्ण आधार शिविरमा रोकिएका पायन एडभेञ्चर,सभेन समिट,इमार्जिङ,इलाइट हिमालयन एडभेञ्चर,ग्लासेयर हिमालयन र पिक परमोसनको टोली शिखरतर्फ प्रस्थान गरेका थिए ।