जलजलाको नाग्लीबाङ वन क्षेत्रमा भीषण आगलागी

ठाकुरप्रसाद आचार्य/म्याग्दी
चैत २६ गते ।

पर्वतको जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीबाङको वन क्षेत्रमा भीषण आगलागी भएको छ । आइतबार दिउसो देखि वन क्षेत्रमा फैलिएको डढेलोले ठूलो रुप लिएको छ । वन क्षेत्रमा फैलिएको डढेलोले मानव वस्तीमा समेत जोखिम बढाएको छ ।

कुस्मा नगरपालिका १ पाङको वन क्षेत्रबाट सुरु भएको आगलागी नाग्लीवाङको वन क्षेत्रमा आइतबार दिउसो देखि प्रवेश गरेको वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिनुभयो ।

आगलागीबाट नाग्लीवाङको मसुरवारी,काउले,गिठीनी,मालरानी हुँदै लक्ष्मी नारायण सामुदायिक वनमा आगलागी भएको उहाँले जानकारी दिनुभयो । आगलागी वडा नम्बर ९ स्थित बनौं हुँदै ७ धाइरिङ सम्म फैलिन सक्ने जोखीम रहेको उहाँले बताउनुभयो ।

घना जंगल र भीर भएकाले आगलागी नियन्त्रणको प्रयास सफल हुन नसकेको वडाध्यक्ष जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आगलागी नियन्त्रण गर्ने प्रयास गरेपनि सफल हुन सकेन । मानव वस्ती नजिक भएकाले आगलागी बढ्दै गए जोखम निम्तिन सक्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो ।