ठाकुरप्रसाद आचार्य/म्याग्दी
चैत २६ गते ।
आगामी नयाँ शैक्षिक सत्र २०८० का लागि म्याग्दीमा करिब १४ हजार सेट सरकारी पाठ्यपुस्तक भित्रिएका छन् । जिल्लाका पुस्तक व्यवसायीहरुले सामुहिक रुपमा लगानी गरेर सामुदायिक विद्यालयका कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई आवश्यक पर्ने १३ हजार सातसय सेट पाठ्यपुस्तकहरु ल्याएका हुन । उक्त पुस्तकहरु चैत २८ गते विद्यालयहरुलाई विक्री वितरण गरिने भएको छ ।
सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तकको सहज र व्यवस्थित रुपमा वितरण गर्नका लागि २८ जना व्यवसायीले सामुहिक रुपमा लगानी गरेर जनक शिक्षा सामग्री क्षेत्रीय कार्यालय पोखराबाट पुस्तकहरु खरिद गरेर ल्याइएको पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति म्याग्दीका अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार कक्षा १ देखि ५ सम्मका सवै पुस्तकहरु आइसकेका छन् । कक्षा ६ देखि १० सम्मका ७७ प्रतिशत पुस्तकहरु जिल्लामा आइसकेको उहाँले बताउनुभयो । वाँकी अपुग पुस्तकहरु बैशाख १ गते भित्र ल्याउनका लागि पहल भइरहेको जानकारी दिनुभयो । बेनीको गणेश टोलमा रहेको विक्री केन्द्रमा आयोजित पत्रकार भेटघाट मार्फत व्यवसायीहरुले उक्त जानकारी दिएका छन् ।
पुस्तक व्यवसायीहरुले सञ्चालन गरेको विक्री केन्द्रमार्फत पुस्तकहरु चैत २८ गते देखि पालिका केन्द्र सम्म पु¥याउने र विद्यालयहरुलाई विक्रीवितरण गरिने जनाइएको छ ।
जिल्लाको दुर्गम धौलागिरि पालिकाबाट पाठ्यपुस्तकहरु विक्री वितरण गरिने महासंघ गण्डकी प्रदेशका अध्यक्ष लिलाराम गौतमले बताउनुभयो ।
जिल्लामा पाठ्यपुस्तकको अभाव नहोस् भनेर पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशले जनक शिक्षा सामग्री केन्द्रसँग पटक पटकको छलफलबाट पुस्तकहरु जिल्लामा ल्याउन सफल भएको उहाँले बताउनुभयो । विगतमा जस्तो पाठ्यपुस्तकको अभाव नहोस् भनेर पुस्तक व्यवसायीहरुले पहिला नै सहजीकरण गरेको उहाँले बताउनुभयो ।
जिल्लामा भित्रिएका पाठ्यपुस्तकहरुलाई व्यवस्थित र सहज रुपमा वितरणको व्यवस्था मिलाउन शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले व्यवसायीहरुलाई अनुरोध गर्नुभएको छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखाले सबै सामुदायिक विद्यालयको कक्षा १–१० सम्मका पाठ्यपुस्तकहरु विगत ९ वर्षदेखि उपलब्ध गराउँदै आएको छ । पुस्तक विक्री मार्फत करिब एककरोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने व्यवसायीले जनाएका छन् ।