एसइई परिक्षामा सहभागी हुँदै आमाहरु

ठाकुरप्रसाद आचार्य\बेनी
चैत १७ गते ।

बेनीकी ४९ वर्षीय विष्णु गुरुङलाई यतिखेर एसईई परिक्षाको चिन्ता छ । शुक्रबार(आजदेखि) सुरु हुने एसईई परिक्षामा राम्रो अंक ल्याएर पास गर्ने रहर गुरुङमा जागेको छ । घरको कामधन्दा सँगै गुरुङ एसईईको तयारीमा जुट्नुभएको छ ।

‘‘सानै उमेरमा विवाह भएपछि पढ्ने अवसरबाट बञ्चित भइयौं’’,गुरुङले भन्नुभयो, ‘‘पढाई नहुँदा धेरै ठाउँमा ठक्कर खाएँ,त्यसैले उमेर नाघेपनि पढ्ने इच्छा जागेर आयौं । राम्रो अंक ल्याएर एसईई पास गर्ने रहर छ ।’’

सात कक्षा पास गरेर आठ कक्षामा पढ्दै थिए बुवा आमाले विवाह गरिदिनुभयो गुरुङले भन्नुभयो, ‘विवाह पछि छोराछोरी जन्माउने,हुर्काकाउने र पढाउनतीर लागियो आफूले पढ्ने भन्ने हरायो ।’ छोराछोरी हुर्काउने र पढाउने काम सकेपछि बल्ल आफूलाई पढ्ने फुर्सद भयो गुरुङले सुनाउनुभयो ।

गुरुङले भन्नुभयो,‘बेनीको उज्यालो विद्यालयमा हामी जस्तालाई पढ्ने अवसर दिएकाले ८ कक्षामा भर्ना भएर पढ्न थाले अहिले एसईईको परिक्षा दिने भएकी छु ।’ बेनीमा अल्लो उद्योग व्यवसाय गर्दै आउनुभएकी गुरुङलाई शिक्षा नहुँदा धेरै ठाउँमा ठक्कर खानुपरेको अनुभव सुनाउनुभयो ।
नयाँ प्रविधिको विकास भएको छ उक्त प्रविधिलाई प्रयोग गर्न पनि शिक्षा जरुरी रहेछ उहाँले भन्नुभयो । एसईईमा राम्रो अंक आए त्यसपछि क्याम्पस पनि पढ्ने रहर भएको उहाँले बताउनुभयो ।

यस्तै रघुगंगा गाउँपालिका–७ चिमखोलाकी ५७ वर्षीया राधा पुनलाई पनि एसईई पास गर्ने रहर जागेर आएको छ । ‘छोराछोरीले एसईई पास गरिसके मैले पनि यसपाली एसईई पास गर्ने हो ।’ उहाँले भन्नुभयो ।

रघुगंगा गाउँपालिका १ बेगखोला स्थायी ठेगाना भई हाल बेनीमा बसोबास गर्नुहुने ५० वर्षीय डिलकुमारी पुर्जाले पनि एसईईको तयारीमा हुनुहुन्छ । ‘‘सानो हुँदा भेडाबाख्रा चराउन जानुपर्दथ्यो,गोठमा दिनहरु विते,विद्यालयमा टेक्ने अवसर पनि पाइएन,’’ पुर्जाले भन्नुभयो, ‘‘गोठमा बाजेले अलिअलि कखरा पढाउनुभयो । अनि विवाह भयो पढ्न पाइँन ।’’

पुर्जाको छोराछोरीले १२ कक्षा पास गरिसेका छन् । अहिले पढ्न थालेपछि छोराछोरी पनि खुसी भएका छन् । परिवारले पनि हौसला दिन्छन् उहाँले सुनाउनुभयो ।

उहाँहरु सहित उज्यालो वैकल्पिक विद्यालयबाट ९ जना आमाहरु यसपालीको एसईई परिक्षामा सहभागी हुनुहुन्छ । ३५ वर्षीय संगीता छिनाल, ३९ वर्षीय धनकुमारी विक, ४० वर्षीय रामदेवी पुन,३७ वर्षीय इन्द्रमति फगामी, २८ वर्षीय पुजा छन्त्याल र ५२ वर्षीय तुलकुमारी खत्री एसईई परिक्षामा सहभागि हुँदै हुनुहुन्छ ।

बुधवार विद्यालयले एसईई परिक्षामा सहभागी हुने आमाहरुलाई एक कार्यक्रमको आयोजना गरेर विदाई गरेको छ । बेनी सामुदायिक माध्यमिक विद्यालयअन्तर्गत स्थापित उज्यालो वैकल्पिक विद्यालय सामाजिक विकास कार्यालय रहेको भवनको भुइँ तलाको ६ कोठामा संचाल गरिएको छ ।

बीचमै पढाई छाडेका लागि उज्यालो विद्यालयले पढ्ने अवसर दिएको छ । विद्यालय पुगेर औपचारिक शिक्षा नपाएका वा बीचैमा पढाई छोड्न बाध्य गृहिणीलाई शिक्षाको मूलधारमा ल्याउन २०७३ देखि समुदायको सक्रियतामा उक्त विद्यालय खुलेको हो ।

विद्यालय सञ्चालन गर्न बेनी नगरपालिकाले केही रकम अनुदान दिने र बाँकी दाताको चन्दा सहयोगबाट चलेको विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । सरकारले दरबन्दी कायम गरेर शिक्षक उपलब्ध गराईदिए आगामी दिनमा विद्यालय सञ्चालन गर्न सहज हुने उहाँले बताउनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।