ठाकुरप्रसाद आचार्य\बेनी
चैत २ गते ।
कालिगण्डकी र म्याग्दी नदी कटानको उच्च जोखिममा परेको बेनी बजार र वरपरका वस्तीलाई जोगाउन आठवटा ठूला योजना कार्यान्वयनमा ल्याइएको छ ।
नदी कटानको उच्च जोखिममा परेको बेनी बजार,गलेश्वर क्षेत्र,राममन्दिर र पर्वत बेनी आसपासका वस्तीलाई संरक्षण गर्न जलस्रोत तथा सिँचाई विभाग अन्तर्गतको रुपताल संरक्षण एकिकृत विकास परियोजना पोखराले उक्त योजनाहरु कार्यान्वयनमा ल्याएको हो । आगामी दुईवर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएका ति योजनाहरुमा करिब ४८ करोड रुपियाँ खर्च गरिने लक्ष्य छ ।
बेनीको कालिपुल वसपार्क,मंगलाघाट बजार र जेसिज भवन देखि म्याग्दी उद्योग वाणिज्य संघ सम्मको संरक्षण योजनाका लागि ९ करोड ४५ लाख रुपियाँमा परियोजनाले गत वर्ष रौताहट–विएनबी कन्ट्रक्शन जेभी सँग ठेक्का सम्झौता गरेको थियो । उक्त योजनामा गत वर्ष मंगलाघाट र वसपार्क क्षेत्रमा करिब तिन करोड रुपियाँ बराबरको काम सम्पन्न भएको परियोजना पोखराले जनाएको छ ।
चालु आर्थिक वर्षमा बेनी ७ स्थित जेसिज भवन देखि म्याग्दी उद्योग वाणिज्य संघको भवनसम्म कालिगण्डकी कटानको उच्च जोखिम क्षेत्रमा एकसय ६४ मिटर लम्बाई भएको काउन्टर फोर्ट पर्खाल (नयाँ प्रविधिको हेभी पर्खाल) निर्माण थालिएको परियोजना पोखराका इन्जिनियर कृष्णबहादुर विकले बताउनुभयो ।
‘‘यो क्षेत्रमा कालिगण्डकीको बहाव केन्द्रित भएको र बजार क्षेत्र कटानको अतिनै उच्च जोखिम देखिएकाले यो प्रविधिको पर्खाल लगाउने योजना बनाएका हौं,’’ ‘‘यो प्रविधिको पर्खाल धेरै महङ्गो पर्दछ । ३२,१६ र १२ एमएमको गोलाई भएका रडहरु प्रयोग गरेर बलियो कङ्क्रिट पर्खाल निर्माण गर्दैछौं, जसले बेनीलाई सुरक्षित बनाउने विश्वास छ ।’’ उहाँका अनुसार नदी किनारमा चौध मिटर फराकिलो जग ढलान गरी दुई मिटरमाथिबाट ५० सेन्टिमिटर बाक्लो र ८ मिटर अग्लो आरसिसी पर्खाल निर्माण हुनेछ ।
जोखिम क्षेत्र भएकाले असार भित्रै योजना सम्पन्न गर्ने गरी दिउसो र रातमा समेत मजदुर र उपकरण परिचालन गरेर कामलाई तिव्रता दिइएको उहाँले बताउनुभयो । उक्त योजनामा काम गरिरहेको रौताहट–विएनबी कन्ट्रक्शन जेभीको सहायक निर्माण कम्पनी माउन्ट धवलागिरि कन्ट्रक्सनका प्रतिनिधि विक्रम हमालले असार महिनाभित्रै योजना सम्पन्न गर्न निकै चुनौती भएपनि दैनिक पचासजना मजदुरले रातीमा समेत काम गरेकाले निर्माण सकिने आशा व्यक्त गर्नुभयो ।
यसैगरी मंगलाघाट बजार क्षेत्रमा म्याग्दी नदीको किनारमा दुईवटा प्याकेज गरेर करिब दुईसय ६२ मिटर लम्बाई भएको कम्पोजिट पर्खाल लगाउने योजनाको एकहप्ता भित्रमा ठेक्का सम्झौता भई काम सुरु हुनेछ । ६ करोड ६० लाख र ५ करोड ७७ लाख रुपियाँ लागत स्टिमेट गरिएका दुई प्याकेजका लागि सुप्रिम कन्ट्रक्सनलाई ठेक्का सम्झौताका लागि पत्र काटिसकिएको परियोजनाका सव इन्जिनियर अशोक तिमिल्सिनाले जानकारी दिनुभयो ।
पर्वतको जलजला गाउँपालिका २ गलेश्वरपारी राममन्दिर संरक्षण योजना कार्यान्वनयका लागि ४ करोड ३२ लाख रुपियाँमा माछापुच्छ«े निर्माण सेवासँग आगामी आर्थिक वर्षभित्र सक्नेगरी ठेक्का सम्झौता गरी निर्माण सुरु गरेको छ । उक्त योजनामा कालिगण्डकी किनारमा एकसय ३८ मिटर लामो कम्पोजिट पर्खाल निर्माण गरिने छ । धार्मिक महत्वको क्षेत्र भएकाले ठेक्काको समयअवधि भन्दा एकवर्ष अगावै सक्ने गरी काम थालिएको परियोजना पोखराका इन्जिनियर विकले बताउनुभयो ।
कालिगण्डकी नदी कटानको उच्च जोखिम रहेको पर्वतकै जलजला गाउँपालिका २ र ३ नम्बर बगरफाँट वस्ती संरक्षणका लागि ९० मिटर लामो कम्पोजिट वाल लगाउन माछापुच्छ«े निर्माण सेवासँग दुई वर्षमा सक्ने गरी परियोजनाले तिन करोड २० लाख रुपियाँमा ठेक्का सम्झौता गरेको छ ।
पर्वत बेनी बजार संरक्षण योजना कार्यान्वनय गर्नका लागि तिन करोड २० लाख रुपियाँ लागत स्टिमेट तयार गरी ठेक्का सम्झौताको चरणमा रहेको परियोजना पोखराले जनाएको छ । उक्त योजना अन्तर्गत पर्वत बेनी स्थित आमा समुहको भवन देखि खेलमैदान सम्म करिब ८० मिटर लामो कम्पोजिट पर्खाल लगाइने छ ।
यसैगरी बेनी नगरपालिका २ भसभसे स्थित म्याग्दी र कालिगण्डकीको दोभानमा ७५ मिटर लम्बाई भएको कम्पोजिट पर्खाल निर्माण गर्न दुई करोड ३० लाख रुपियाँमा दुईवर्ष भित्रमा निर्माण सक्नेगरी हिमालयन कन्ट्रक्सन ताप्लेजुङ सँग ठेक्का सम्झौता गरी निर्माण सुरु गरिएको परियोजना पोखराका इन्जिनियर विकले जानकारी दिनुभयो ।
रघुगंगा नदीको कटानबाट गलेश्वर क्षेत्रलाई जोगाउन दुई करोड ६८ लाख ३८ हजार रुपियाँमा ९० मिटर कम्पोजिट पर्खाल निर्माण गर्न परियोजनाले भाग्य लक्ष्मी विआरटी जेभी सँग ठेक्का सम्झौता गरी योजना कार्यान्वयन गरिएको छ । नदी कटानको उच्च जोखिम क्षेत्रहरुमा योजना सञ्चालित भएकाले सकभर ठेक्का सम्झौता मिति अगावै निर्माण सम्पन्न गर्नेगरी निर्माण व्यवसायीलाई प्रयाप्त मात्रामा मजदुर र उपकरण परिचालन गर्न निर्देशन इन्जिनियर विकले बताउनुभयो ।
योजनालाई छिटो,छरिता र गुणस्तरीय बनाउन परियोजनाका तर्फबाट अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाइएको उहाँको भनाई छ । समयमै योजना सम्पन्न गराउन नगरपालिकाको तर्फबाट आवश्यक सहयोग,सहजीकरण र अनुगमन भइरहेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।