विकल्प न्यूज/बेनी
फागुन २५ गते ।
प्रहरीले सदरमुकाम बेनीबाट धेरै परिमाणमा लागूऔषध बरामद गरेको छ । पछिल्लो समय बेनीको कालिपुल लगायतका क्षेत्रमा लागूऔषधको कारोवारी बढेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले चारवर्ष यताकै ठूलो परिमाणमा लागूऔषध बरामद गरेको हो ।
बेनी स्थित कालीपुलबाट दुई सय एम्पुल डाईजापाम, फेनेरागन दुई सय एक एम्पुल र नुर्फिन दुई सय एम्पुल सहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक मदन कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको रघुगंगा गाउँपालिका–७ चिमखोला घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ बौर बस्ने बर्ष २८ की सोबिता बागदास र बेनी नगरपालिका–९ घतान घर भई बौर बस्ने बर्ष ३२ का प्रेम सार्कीलाई उक्त परिमाणको लागूऔषध सहित बुधवार नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक कुँवरले बताउनुभयो ।
प्रहरीका अनुसार पछिल्लो पटक दुई जनाबाट बरामद भएको उक्त लागूऔषधको यो परिमाण २०७६ सालयताकै सबैभन्दा धेरै हो । लागूऔषध सहित पक्राउ परेका बाग्दास र सार्कीलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसंधान अघि बढाईएको प्रनाउ कुँवरले बताउनुभयो ।
यस अघि फागुन ११ गते पर्वतको जलजला गाउँपालिका–३ मल्लाजचोकबाट रुपन्देही सोमरीमाई गाउँपालिका–३ घर भएका १९ बर्षका मुस्ताफा खानलाई तीन सय ९३ ट्याबलेट नाईट्राभेट सहित नियन्त्रणमा लिइएको थियो । त्यसैगरि फागुन १६ गते बेनी नगरपालिका–८ कालीपुलबाटै भारतको बमनग्राम माल्दाहा घर भई पोखरा बसोबास गर्दै आएका २८ बर्षका अलेमुन हक ६.५ ग्राम खैरो हिरोईन सहित पक्राउ परेका थिए ।
जिल्लामा पछिल्लो समय विद्यार्थी र युवाहरु लागूऔषधको कुलतमा फस्ने समस्या बढ्दै गएपछि लागूऔषधका कारोवारीहरु बढेपछि प्रहरीले लागूऔषध नियन्त्रणका लागि खोजी अभियान र विद्यालयहरुमा सचेतनामुलक कार्यक्रमलाई संगसंगै अघि बढाएको छ ।