परिश्रमी पवित्रा कार्की, जसले दैनिक बेनीमा डोकामा साग विक्री गर्नुहुन्छ

ठाकुरप्रसाद आचार्य/म्याग्दी
फागुन २४ गते ।

आज मार्च ८ ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रमहरु गरेर मनाईदै छ । महिला अधिकारकर्मीहरुले अन्तरक्रिया,विचारगोष्ठी र सभासमारोहको आयोजना गरेका छन् । तर बेनी नगरपालिका २ खबरा लभ्लीहिलकी पवित्रा कार्की भने डोका साग बोकेर बेनी बजारमा घुम्दै हुनुहुन्छ । कार्कीलाई महिला दिवसका वारेमा केही थाहा छैन ।

कार्कीले ४० वर्ष देखि यता सागसब्जी विक्री गर्दै आउनुभएको छ । साग विक्रीबाट वार्षिक तिनदेखि ४ लाख रुपियाँ कमाउने उहाँ बताउनुहुन्छ । डोकाभरी हरियो सागसब्जी बोकेर दैनिक एक घण्टा ओरालो झरेर पवित्रा एकाविहानै बेनीबजार आइपुग्नुहुन्छ । बजारका घरघरमा सागसब्जी पु¥याएर उहाँ फेरी उकालो लाग्नुहुन्छ । पवित्राको यस्तै दैनिकी विगत ४० वर्ष देखि यता निरन्तर छ । झरीबादल,चर्को घाम उहाँका लागि सामान्य छन् ।

Adv

सागसब्जी खरिद गर्ने बजारमा उहाँका नियमित ग्राहक छन् । सागसब्जीका मुठाले भरिएको डोको बोकेर पवित्रा होटल देखि सर्वसाधारणहरुको घरघरमा पुग्नुहुन्छ । सवैकिसिमका सागसब्जीहरु पवित्राको डोकोमा पाइन्छन । उहँले चाइनिज तोरी,लसुन,प्याज,पालुङ,रायो,मुला लगायतका साजसब्जीहरु दैनिक रुपमा बेनी ल्याएर विक्री गर्नुहुन्छ ।

‘‘सुरुमा एक मुठाको एक रुपियाँमा पनि साग विक्री गरेँ,धेरै वर्ष पछि दुई रुपियाँ भयो अहिले २० रुपियाँ र बेमौसममा उत्पादन गरेको सागसब्जी ५० रुपियाँ सम्म विक्री गर्ने गरेको छु,’’पवित्राले भन्नुभयो,‘‘एकडोका साग विक्री गर्दा अहिले एकहजार रुपियाँ पर्दछ । दैनिक साग लिएर बेनी आउनेगरेकी छु ।

मलाई आजकल त बजारमा सब्जी आमा बनेर बोलाउने गर्दछन् ।’’ साग लगायत पवित्रले अन्य तरकारी पनि लगाउनुहुन्छ । दुईतिन रोपनीमा सागसब्जी र तिनचार रोपनीमा अन्य तरकारी खेती गर्ने गरेको पवित्राले बताउनुभयो । उहाँको श्रीमान चन्द्रबहादुर कार्कीले जिल्लाकै नमुना कृषकको पहिचान बनाउनुभएको छ । पवित्राको परिवारमा श्रीमान,छोरा र बुहारी छन् सवैजनाले तरकारी खेतीमा काम गर्नुहुन्छ ।

होलसेलमा विक्री गर्ने तरकारी छोराले बजारमा ल्याउँछन् पवित्रकाले भन्नुभयो ‘मैले डोकोमै बोकेर साग मात्र ल्याउने गरेकी छु । बजारमा नियमित सागसब्जी खरिद गर्ने मेरा आफ्नै ग्राहकहरु छन् । एकघण्टा बजार घुमेपछि डोकोभरीको साग विक्री हुन्छ अनि घर फर्किने गरेकी छु ।’’ बुढ्याउली उमेर भएपनि आफूले सक्ने जति काम गर्नुपर्दछ । काम नगरी बस्नुभन्दा काम गर्नु स्वास्थ्यका लागि पनि हितकर हुन्छ उहाँले सुनाउनुभयो ।

कार्कीको खेतबारीमा बाह्ै महिना आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायतका तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायतका फलफूल हुन्छन् । तरकारीका साथै गोठमा भैँसी, बाख्रा, घर वरपर राखेका मौरीका घारमा रहेका मौरी र माछा पालनबाट पनि कार्की परिवारले राम्रो आम्दानी गर्दै आउनुभएको छ ।

४५ वर्ष देखि नियमित रुपमा व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएको पवित्रकाको श्रीमान चन्द्रबहादुरले बताउनुभयो । तरकारी विक्री गरेर वार्षिक रुपमा १२ देखि १५ लाख रुपियाँ सम्म आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । सानै देखि तरकारी पेशा सुरु गरियो चन्द्रबहादुरले भन्नुभयो ‘‘मेरो जिन्दगी माटोमै खेल्दाखेल्दै वित्यो ।

तरकारी पेशामा रमाउँदा रमाउँदै उमेरमा विदेश जाने रहर पनि भएन आफ्नै खेतबारीको माटोमा परिश्रम गर्दा आनन्दको अनुभूति हुन्छ ।’’ कृषि पेशाबाटै कार्कीले करिब एककरोड रुपियाँ भन्दा धेरै कमाईसक्नुभएको छ । तरकारी खेतीको आम्दानीले बेनीबजारमा कार्कीले घर घडेरी समेत जोड्नु्भएको छ ।