जलजलाको बगरफाँटलाई जोड्न कालिगण्डकीमा बेलिब्रिज निर्माण सुरु

ठाकुरप्रसाद आचार्य/बेनी
फागुन २० गते ।


बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका २ र ३ नम्बर वडामा पर्ने बगरफाँटलाई बेनीबजारसँग जोड्न कालिगण्डकी नदीमा मोटरेबल पुल निर्माण थालिएको छ । पर्वत बेनी देखि बगरफाँट जोड्ने सडक कालिगण्डकी नदीले सडक कटान गरेपछि यो बगरफाँटवस्ती विगत दुईवर्ष देखि सडक सुविधाबाट बञ्चित हुँदै आएको थियो । पक्की पुल नहुँदा बगरफाँटवासीले सास्ती भोग्दै आएको थिए ।

बेनी नगरपालिका ८ स्थित कालिपुल बजार देखि जलजला गाउँपालिका ३ बगरफाँट वस्तीलाई जोड्ने गरी बेलिब्रिज निर्माणका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाले हिमालयन विल्डर्स बेनीसँग पाँचमहिना भित्र योजना सम्पन्न गर्नेगरी एककरोड ६० लाख रुपियाँमा ठेक्का सम्झौता गरेको छ । बेनी जोमसोम सडक अन्तर्गत पोखरेबगर स्थित कालिगण्डकी नदीमाथि निर्माण गरिएको हाल प्रयोगविहिन अवस्थामा रहेको बेलिब्रिजलाई ल्याएर कालिपुलमा जडान गर्ने गरी सम्झौता भएको आयोजना प्रमुख जगत प्रजापतिले बताउनुभयो ।

निर्माण कम्पनीले शुक्रबार देखि नदी किनारमा पुलको जग खन्ने काम थालेको छ । ५४ मिटर लामो बेलिब्रिज राख्नका लागि मेशिनरी वाल सहित ग्याविन झाली भरेर दुवैतर्फ आवश्यक संरचना निर्माण गरिने निर्माण कम्पनीका सव ओभरसियर सनम शाहीले बताउनुभयो । पाँचमहिना भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि तिनमहिना भित्र योजना सम्पन्न गर्ने लक्ष्यका साथ उपकरण र मजदुर परिचालन गरिएको उहाँले बताउनुभयो ।

पुल निर्माणको माग गर्दै विभिन्न समयमा बगरफाँटवासीले आन्दोलन समेत गर्दै आएका थिए । कालिगण्डकी नदीमा पुल निर्माणमा पहल गर्ने प्रतिवद्धता नजनाएसम्म गत मङ्सिरको निर्वाचनमा कुनै पनि दलका उम्मेदवारलाई मतदान नगर्ने घोषणा गरेपछि म्याग्दी र पर्वतका उम्मेदवारहरुले बगरफाँट पुगेर पुल निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

निर्वाचनका समयमा नेताहरुले जनाएको प्रतिवद्धता पुरा हुनेभएको छ जलजला गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष प्रकाश जिसीले भन्नुभयो ‘म्याग्दीको सदरमुकाम बेनीसँग जोडिएको भएपनि कालिगण्डकीमा पुल नहुँदा दुर्गम जस्तै भएको छ । दैनिक उपभोग्य वस्तु,विकास निर्माणका सामग्री,निजी आवास निर्माण लगायतका सामानहरु ढुवानी गर्दा आठ किलोमिटर दुरीको घुमाउरो सडक प्रयोग गर्नुपर्ने बाध्यता छ ।

अहिले बगरफाँटवासीको मागको सुनुवाई भएकोमा खुसी लागेको छ ।’ नदीले कटान गरेको सडक बनाउन संंभव नभएकाले पुल हाल्नुको विकल्प नभएको उहाँले बताउनुभयो । बेलिब्रिज निर्माण भएपछि बेनी सँग बगरफाँट सिधा यातायातमा जोडिने छ ।

करिब तिनसय घरधुरीको बसोवास रहेको बगरफाँटवासीले दैनिक उपभोग्य वस्तुहरु भरियालाई रकम तिरर झोलुङे पुलबाट बगरफाँट पु¥याउँदा सामानको मुल्य महङ्गो पर्नेगरेको वडा अध्यक्ष जिसीले बताउनुभयो । बगरफाँटका बासिन्दा म्याग्दी आवत जावत गर्ने कालीपुल जोड्ने झोलुङ्गे पुलको पनि लठ्ठा खिया लागेर छिन्ने अवस्थामा पुगेको छ । बगरफाँटमा बसोबास गर्ने विद्यार्थी,शिक्षक,कर्मचारी लगायतका सर्वसाधरणहरु म्याग्दी बेनी आवतजावत गर्न निकै समस्या हुनेगरेकोमा पुल निर्माणपछि सहज हुने भएको हो । साभार गोरखापत्र अनलाइन