जनकल्याण माविले ग¥यो चन्दादाता र पत्रकारलाई सम्मान

विकल्प न्यूज/बेनी
फागुन ५ गते ।

बेनी नगरपालिका–५ को जनकल्याण मावि पुलाचौरले चन्दादाता र पत्रकारलाई सम्मान गरेको छ । विद्यालयमा स्थापित अक्षयकोषको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको अवसरमा चन्दाता र पत्रकार प्रताप बानियाँलाई सम्मान गरेको हो ।

बानियाँलाई जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ११ र १२ सञ्चालन गर्नका लागि अक्षयकोष स्थापनामा पत्रकारिताको माध्यमबाट पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै जनकल्याण मावि अक्षयकोषद्वारा उत्कृष्ट पत्रकारको रूपमा सम्मान गरिएको विद्यालयले जनाएको छ ।

म्याग्दीका क्रियाशील पत्रकारसमेत रहनुभएका बानियाँलाई बेनी नगरपालिकाका मेयर सुरत केसी, वडा नम्बर ५ पुलाचौरका अध्यक्ष गोविन्द बानियाँ र जनकल्याण मावि अक्षयकोषका अध्यक्ष रामप्रसाद सुवेदीले अबिरको टीका तथा माला लगाएर सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

यसैगरी विद्यालयको अक्षयकोष स्थापनामा सहयोग पुर्‍याउने विभिन्न व्यक्ति र संस्थालाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा सर्वोत्कृष्ट चन्दादाता गोपाल बानियाँ, ज्येष्ठ नागरिकद्वय दधिलाल पौडेल र पुतली किसान, सहयोगदाता बलराम बानियाँ, सक्रिय सदस्यहरू यामकुमारी श्रेष्ठ र भगवती पौडेल रहनुभएको छ । त्यस्तै संस्थागततर्फ पानीपँधेरा सामुदायिक वन उपभोक्ता समिति र शिवालय आमा समूह पुलाचौरलाई पनि सम्मान गरिएको थियो ।

२०७५ सालमा स्थापना भएको जनकल्याण मावि अक्षयकोषमा अहिले मानार्थ, यशस्कर, विशिष्ट र आजीवन सदस्यसहित एक सय तीन जना सदस्य आबद्ध छन् । अहिलेसम्म अक्षयकोषमा ४७ लाख ६३ हजार पाँच सय ११ रुपैयाँ रहेको छ ।