विकल्प न्युज । बेनी
फागुन १ गते ।
म्याग्दीको धार्मिक पर्यटकीय स्थल गलेश्वरधाममा भक्तजनले चढाएको भेटीले सडक बत्ती जडान गरिएको छ ।
बेनी नगरपालिका वडा नं ९ स्थित रहेको गलेश्वर बजार क्षेत्रमा सडक बत्ती जडान गरिएको हो ।
मन्दिरमा दर्शन गर्न आएका भक्तजनले चडाएको भेटीबाट गलेश्वरको प्रवेशद्धारदेखि मोटरेबल पुलसम्म २ लाख तिस हजार ७५० रुपैयाँको लगानीमा ५५ वटा सडक बत्ती जडान गरिएको छ ।
गलेश्वरको आन्तरिक आम्दानीबाट बजारमा बत्ती जडान गरिएको छ । ‘स्थानीयबासी र भक्तजनलाई समेत सहज हुन्छ’ गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधबप्रसाद रेग्मीले भन्नुभयो ।
बेनी–गलेश्वर हुदै उत्तरी म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई रातको समयमा समेत गलेश्वर आसपासमा पैदल र सवारीसाधनमा आवतजावतका लागि समेत सहज हुने अपेक्षा गरिएको छ ।सडक बत्तीको मर्मतसम्भार सहितका कार्यहरुमा समेत गलेश्वर शिवालय क्षेत्र विकास कोषले सघाउने छ । यसैबीच मन्दिरमा अति जिर्ण अवस् थामा रहेको यात्रशाला, हवन कुण्डको जिर्णद्धारको काम समेत अन्तिम चरणमा पुगेको छ ।
उक्त कार्यका लागि पोखराको रानीपौवामा बस्ने विष्णुकुमारी पुनले ४ लाख ५०हजार र बेनी नगरपालिका तिनमाने घर भई हाल काठमाण्डौको ताहाचल बस्ने संस्थाका सल्लाहकार रमेश सुबेदीबाट ६७ हजार सहयोगमा टायल विच्छाउने काम भइरहेको छ ।
हवनकुण्डमा चिम्ती राखेपछि यज्ञशाला घुँवारहित हुने कोषका सचिव बलबहादुर खत्रीले बताउनुभयो ।
त्यस्तै मन्दिर परिसरको मुलगेट आसपासमा रहेको चौतारी स्वर्गीय मिनबहादुर विश्वकर्माका छोरा जिवन विश्वकर्माले मर्मतसम्भार गरिरहेको र मन्दिरमा रहेका पिपल र ब्रम्हलिष्ट गलेश्वर बाबाका मूर्ती रहेको चौतारीका लागि शान्ता गौचनले सहयो गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।