विकल्प न्यूज\बेनी
माघ ११ गते ।
भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउनका लागि आज कालीगण्डकी नदीबाट शिला निकालिएको छ । शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दूको प्रसिद्ध धार्मिकस्थल अयोध्यामा भगवान श्रीरामको बालरुपको मूर्ति निर्माण गरिनेछ । म्याग्दीको बेनी नगरपालिका-६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारमा रहेको शिला क्रेनमार्फत् निकालेर गलेश्वर पठाइएको छ ।
भोलि वसन्तपञ्चमीको दिन शिलाको विशेष पूजाआजा गरी जनकपुरधाम हुँदै अयोध्या पठाइने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए । गत आइतबार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले क्षमापूजा र गङ्गापूजन जनकपुर मन्दिरका पिठाधीश रामतपश्वेर दास र अयोध्याको राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजलाई शिलाको प्रतीकस्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गरेका थिए ।
मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिक टन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुईवटा शिलाको पहिचान र क्षमापूजाको काम सम्पन्न भएपछि बिहीबार श्रीपञ्चमीको शुभसाइतमा शिला अयोध्या पठाउन लागिएको हो ।
हिन्दू धर्मावलम्बीको केन्द्र अयोध्यासँगको जनकपुरको धार्मिक र ऐतिहासिक सम्बन्ध छ । कालीगण्डकीको शिला अयोध्या लगेर भगवान् श्रीरामको मूर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै बढ्ने अयोध्याबाट आएका राममन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पङ्कजले बताए । रासस