पुण्यबहादुर शाक्य /बेनी
पुस २७ गते ।
म सानो सानो थियो, २००७ सालको मेलाको संझना आउँछ । बेनी बजारमा माघे सक्रान्ति मेलाको इतिहास पुरानो छ । यसको आफ्नै पहिचान पनि छ । त्यसवेलाका वुढापाकाहरुले पनि माघे संक्रान्ति मेलाको खुव चर्चा गरेको पाइन्थ्यो । पछिपछि आधुनिकताले छोप्न थालेपछि मेला हराउँदै गयो ।
त्यसवेला गाउँघरवाट धेरै मानिसहरु मेलामा आउँथे । अहिलेको जस्तो प्रचारप्रसार हुनेथिएन न त तामझाम नै । तर गाउँगाउँवाट गाउँलेहरु बजारमा झर्थे । बजार झरेका गाउँलेहरुले खुब रमाइलो गरी माघेसंक्रान्ती मनाउँथे । गाउँमा उत्पादन भएका बासका सामाग्रीहरु र फलामका सामानहरु मेला लागि खरिद विक्रिका वस्तुहरु हुन्थे । बजारको गल्लीभरी रातभर मानिसहरुको भिडभाड हुने थियो । मेला भर्न आएकाहरु बजारमा गीत गाउँदै बजार नै गुञ्जायमान हुँदा रात गएको पत्तै हुनेथिएन ।
त्यतिवेला त कस्तो रमाइलो हुने थियो नी ! अहिले त के रमाइलो हुन्छ र ! पसलहरु रातभर खुलेका हुन्थे । मान्छेहरुले रातभर खानपिन गर्दथे । बेनीमा लाग्ने मेला यस क्षेत्रकै ठूलो लाग्थ्यो । मेलामा बागलुङ, पर्वत र अन्य जिल्लाबाट पनि सर्वसाधरणहरु आउने गर्दथे ।
बुढापाकाहरु गंगा नुहाउथे भने ठिटाहरुले गीत गाउँदै नाच्दै बजारमा हिडडुल गर्दथे । बजारमा टन्न व्यापार हुन्थ्यो त्यसवेला । मान्छेहरु टौवा मुनी, केही परलमा सुतेका हुन्थे । विहान पख हेर्दा त हा… हा.. हा.. हा.. हा… केही कोही रक्सी खाएका मान्छेहरु जताततै पल्टिएका हुन्थे । कलझगडा हुने थिएन ।
त्यसवेलाका मेलाको आफ्नै मौलिकता थियो । आजकलका मेला महोत्सवमा मौलिकता हराएको हो कि जस्तो लागेको छ । पुराना मेला महोत्सवको पहिचान गुम्दै गएको छ । हुनत अहिलेको विकसित समाजमा मेला महोत्सव पनि त्यही किसिमले सञ्चालन गर्नुप¥यो नी । तर हामीले पुरानो संस्कृतिको पनि संरक्षण गर्न भूल्नुहुँदैन ।
अहिलेका मेलामा मान्छेहरु बजारमा झार्नका लागि ठूलै तामझाम र प्रचारप्रसार गर्नुपरेको छ । खर्चिलो भएको भएको छ मेला महोत्सव । अहिले पैसा कसरी कमाउने भन्ने नै मान्छेहरुको ध्यान छ । अहिलेका मेला महोत्सव त मान्छेहरु खकाल्ने मात्र भएका छन् । सर्वसाधारणहरु जो गरिव छन् तिनीहरुलाई मेलाको कुनै महोत्व छैन ।
धन हुनेका लागि मात्र हो भएको छ अहिलेका मेला महोत्सव । कलझगडा वढि हुन्छ । उपलब्धी कम हुन्छ । अहिले लाग्ने महोत्सवहरुको सकरात्मक पाटो भनेको स्थानीय लोकसंस्कृतिको संरक्षण,पर्यटन प्रवद्र्धन र भेषभूषा पदर्शनी हो । महोत्सव लाग्ने गरेकाले यहाँको प्रचारप्रसारमा सहयोग पुगेको छ । बेनी बजारवासी शाक्यसँग उहाँको अनुभवलाई लिएर पाँचौ म्याग्दी महोत्सव ताका कुराकानीमा आधारित रहेर तयार पारिएको छ ।