रघुगंगामा धमाधम निर्माण हुँदै तुन्डी पावरका जलविद्युत आयोजना

ठाकुरप्रसाद आचार्य/म्याग्दी
पुस २५ गते ।

अपर राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह निर्माणका लागि एक्साभेटरले पहरा काट्दै । तस्विर ठाकुरप्रसाद आचार्य /म्याग्दी 

म्याग्दीको रघुगंगा गाउँपालिकाको माथिल्लो भेग हुँदै बग्ने राहुघाट नदीमा निर्माणधिन दुई जलविद्युत आयोजनाको निर्माण तीव्र पारिएको छ । तुन्डी पावर कम्पनीले दुई वर्षअघि ३७.५ मेगावाट क्षमताको राहुघाट मंगले र यसैको क्यसकेट आयोजना ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको निर्माण थालेको थियो । दुवै आयोजना निर्माणलाई कम्पनीले एकसाथ अगाडी बढाएको छ ।

आयोजना स्थल भौगोलिक रुपमा विकट मानिएको रघुगंगा गाउँपालिका ७ चिमखोलामा पर्दछ । भीर पहरा फुटालेर आयोजना स्थलसम्म पहुँच मार्ग निर्माण पश्चात दुवै आयोजनाको काम धमाधम अघि बढ्ेको छ ।

कम्पनीले आयोजनाको सुरुङ,बाँधस्थलमा हेडवक्र्सका संरचना र विद्युतगृहको निर्माणलाई तिव्रता दिएको तुन्डी पावर कम्पनीका इञ्जिनियर इन्द्र ढकालले जानकारी दिनुभयो । दुवै आयोजनामा एकहजार जना दक्ष जनशक्ति र उपकरणहरु परिचालन गरेर निर्माण कार्यलाई अगाडि बढाइएको उहाँले बताउनुभयो । भौगोलिक रुपमा विकट क्षेत्रमा आयोजना निर्माण गर्दा समस्या र चुनौती भएपनि लक्ष्य अनुसार निर्माण कार्य सन्तोषजनक रहेको उहाँको भनाई छ ।

राहुघाट मंगलेको पाँचहजार तिनसय मिटर सुरुङ मध्य अहिले सम्म दुईहजार चारसय मिटर सुरुङ खन्ने काम सकिएको छ । ‘दुईवटा अडिटबाट सुरुङ खन्ने काम भएको छ,कम्पनीका इञ्जिनियर ढकालले भन्नुभयो ‘अवको ११ महिनाभित्र सुरुङ ब्रेकथ्रु गर्ने लक्ष्य राखेका छौं ।’ वडा नम्बर ८ कुइनेमंगले र ७ नम्बर वडा चिमखोलाको सिमाना बन्दीघाटमा आयोजनाको बाँधस्थल रहेको छ ।

चिमखोलाको बगरखोलाको दोभान मलाङमा रहेको विद्युतगृहको निर्माणका लागि जग खन्ने काम थालिएको आयोजनाले जनाएको छ । समग्र रुपमा आयोजनाको अहिलेसम्म ४४ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इञ्जिनियर ढकालले बताउनुभयो । आगमी ३० महिनाभित्र आयोजना सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको उहाँको भनाई छ ।

यसैको क्यसकेट आयोजना ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको निर्माणलाई पनि सँगसँगै अगाडि बढाइएको उहाँको भनाई छ । ६ हजार तिनसय मिटर लामो सुरुङ मध्य तिनहजार एकसय मिटर सुरुङ खन्ने काम सकिएको हाईहिमालय कन्ट्रक्सनका इञ्जिनियर जीवन लामाले बताउनुभयो । दुइवटा अडिटबाट सुरुङ खन्ने काम भइरहेको उहाँको भनाई छ । राहुघाट मंगलेको विद्युतगृहबाट निस्केको पानीलाई सिधै यो आयोजनाको सुरुङमा हालेर दग्नामको पुछारमा रहेको विद्युतगृहमा पानीलाई ३६२ मिटर उचाईबाट खसालेर विद्युत निकालिने छ ।

दग्नामको पुछारमा रहेकोे विद्युतगृह निर्माणका लागि कात्तिक देखि पहरा कटान थालिएको छ । आगमी दुईमहिना भित्रमा पहरा कटान सकेपछि विद्युतगृहका संरचना निर्माण थालिने निर्माण कम्पनी हाइ हिमालय कन्ट्रक्सनका साइड इन्चार्ज भुवनाथ अधिकारीले बताउनुभयो ।
विद्युतगृह निर्माणका लागि क्रसर प्लान्ट निर्माण,दुईवटा एक्साभेटर लगायतका उपकरण र जनशक्ति परिचालन गरिएको छ । यो आयोजनाको अहिले सम्म ३७ प्रतिशत भौतिक प्रगति भएको तुन्डी पावर कम्पनीका इञ्जिनियर ढकालले बताउनुभयो । आगमी तिनवर्ष भित्र आयोजना निर्माण सम्पन्न गर्ने कम्पनीले लक्ष्य राखेको छ । दुवै आयोजना निर्माणका लागि आयोजना प्रवद्र्धक कम्पनीले रामेछाप शेर्पा कन्स्ट्रक्सन,हाइहिमालय हाइड्रो कम्पनी र साउथ एशियन इन्फास्ट्रक्चरसँग ठेक्का सम्झौता गरेको छ । दुवै आयोजनाको अनुमानित कुल लागत करिब ७ अर्ब रहेको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् २२० केभीए क्षमताको दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । आयोजनाले मौवाफाँट–दग्नाम–दर्मीजा–चिमखोला हँुदै बाँध निर्माणस्थलसम्म दुईवर्ष अघि पहुँचमार्ग निर्माण गरेको थियो । साभारः गोरखापत्र अनलाइन