सहकारीको रकम सिमित व्यक्तीले गलत रुपमा प्रयोग गर्दा तरलता अभावको समस्या

न्यूज/बेनी
पुस २४ गते ।

म्याग्दी सदरमुकाम बेनीमा सहकारी सम्वन्धी समसामयिक विषयमा अन्तरक्रिया तथा समन्वय गोष्ठी सम्पन्न भएको छ । जिल्ला सहकारी संघ म्याग्दीको समन्वय तथा सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको आयोजनामा आइतवार बेनी नगरपालिकाको सभाहलमा कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा जिल्ला स्थित सम्पूर्ण सहकारी संस्थाका संचालक पदाधिकारी तथा प्रवन्धकहरुको सहभागिता रहेको कार्यक्रमको उद्घाटन गर्नुहुँदै बेनी नगरपालिका प्रमुख सुरत केसीले सहकारीलाई व्यवस्थित संचालनका लागि संचालक समिति तथा सहकारीकर्मीहरु सचेत हुनुपुर्ने बताउनुभयो ।
सहकारीभित्र हिजो भएका साना साना गल्तीका कारण आज विकराल समस्या उत्पन्न भएको बताउँदै नगर प्रमुख केसीले सहकारीले लगानी गर्दा विचार पु¥याउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सहकारीका सदस्यहरुले बचत गरेको रकम समिति तथा कर्मचारीहरुमध्यका केही व्यक्तिहरुले गलत प्रयोग गर्दा वा आफुखुसी प्रयोग गर्दा सहकारीमा तरलता अभाव देखिएको छ, नगर प्रमुख केसीले भन्नुभयो ।

कार्यक्रममा बेनी नगरपालिका उपप्रमुख ज्योति लामिछानेले पछिल्लो समय जिल्लाका कतिपय सहकारीहरुले सदस्य तथा अन्य सेवाग्राहीले बचत गरेको रकम फिर्ता गर्न समेत नसकेको गुनासो आएको बताउँदै व्यस्थित रुपमा संचालनका लागि संचालक समिति तथा सदस्यहरु समेत गम्भिर बन्न आवश्यक रहेको बताउनुभयो ।

सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार रमेश घर्तिले सहकारीको उत्कृष्ट संचालन विधि, सुशासन, समस्या र समाधानका उपाय, संचालक समिति र शेयर सदस्यको जिम्मेवारी, कर्मचारीको भूमिका लगायतका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

उहाँले गण्डकी प्रदेशभित्र संचालनमा रहेका सहकारीहरुको नियमनकारी निकाय रजिष्ट्रार कार्यालय भएकोले आफ्नो सहकारीलाई रजिष्ट्रार कार्यालयमा अद्यावधिक गराउन समेत अनुरोध गर्नुभयो । कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, जिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्की, नगरपालिकाका अधिकृत युवराज थापा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रजिष्ट्रार घर्ति र शाखा अधिकृत तोलाकान्त वाग्लेले सहकारीको वर्तमान अवस्था, उत्पन्न समस्या, समाधानका उपाय र व्यवस्थित संचालन गर्ने तरिका तथा नीति नियमको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रमका सहभागी विभिन्न सहकारीका संचालक तथा प्रवन्धकहरुले जिल्लामा रहेका सहकारीको वर्तमान अवस्थाको बारेमा जानकारी समेत प्रस्तुत गरेका थिए ।