ठाकुरप्रसाद आचार्य/म्याग्दी
पुस २१ गते ।
शालिग्राम पाइने नदीका रुपमा परिचित कालिगण्डकीको शिला हिन्दुहरुको धार्मिक स्थल भारतको आयोध्यामा पठाउन अध्ययन थालिएको छ । मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वर हुँदै बग्ने कालिगण्डकी नदीको शिलालाई भारतको अध्योध्यामा लगेर भागवान रामको मुर्ती बनाउन प्रयोग गरिने भएको हो । शिलाको खोजी र अध्ययन गर्न गण्डकी प्रदेश सरकारबाट खटिएको टोलीले बेनी स्थित कालिगण्डकी नदीमा शिलाको खोजी,पहिचान र अध्ययन गरेर फर्किएको छ ।
बेनीदेखि उत्तर गलेश्वरधामसम्म ३ किलोमिटर क्षेत्रमा मात्र पाइने शिलालाई जनकपुरधाम हुँदै अयोेध्या पठाउने तयारी भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । बेनी देखि गलेश्वर क्षेत्र धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिएकाले यहाँको शिला अयोध्या लैजान नदी किनारमा भएका शिलाला (ढुङ्गा)को अध्ययन गरेर टोली फर्किएको उहाँले बताउनुभयो ।
‘कालीगण्डकी नदीबाट पवित्र बनेका ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३.५ फिट मोटाइका २ थान शिलाको अध्ययन भएको छ उहाँले भन्नुभयो ‘कालिगण्डकी नदीको शिला भारतको अयोध्यामा पु¥याउँदा हाम्रो धार्मिक सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास छ ।’
भरतको राम जन्मभूमि तीर्थक्षेत्र कार्यालयले कालीगण्डकीको शिला पठाउन जानकी मन्दिरलाई गत कात्तिक १९ मा पत्राचार गरेको थियो । संस्कृति तथा पर्यटन मन्त्रालयले जनकपुरधाम र अयोध्याधामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनका साथै नेपालको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भन्दै दुई थान शिला उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।
मन्त्रिपरिषद् र गण्डकी प्रदेश सकारको सहमतिपछि कालिगण्डकीमा शिला खोजी र अध्ययन सुरु गरिएको नगरप्रमुख केसीले बताउनुभयो । हिन्दु धार्मिक मान्यताअनुसार शालिग्राम पाइने भएकाले कालीगण्डकी आफैंमा पवित्र नदी मानिन्छ । त्यसमा पनि कालीगण्डकी किनाराको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धी प्राप्त गरेको पौराणिक मान्यता भएकाले यस क्षेत्रको शिला धार्मिक हिसावले महत्पूर्ण हुने धार्मिक विश्वास छ ।
‘यो क्षेत्र पुण्यभूमि हो, त्यसैले कालीगण्डकी नदीको निरन्तर जलप्रवाहले पवित्र बनेका यहाँका शिला राम मन्दिरमा लैजान लागेका हौं,’ शिला अध्ययन, उत्खनन तथा स्थानान्त्रण अभियानका सदस्य तथा कृष्णगण्डकी नदीका अध्येता कुलराज चालिसेले भन्नुभयो, ‘शिला तत्काल जनकपुरस्थित रामजानकी मन्दिरमा राखिनेछ ।
त्यसपछि अनुकूल समयमा अयोध्याको राम मन्दिरमा पठाइने उहाँले बताउनुभयो । अयोध्याको आकर्षणको केन्द्र भगवान रामको मुर्ती बनाउन शिला लैजान लागिएको हो उहाँले भन्नभुयो, ‘यसले अयोध्या, जनकपुर र मुक्तिनाथबीच धार्मिक र सांस्कृति सम्बन्धलाई जोड्नुका साथै धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ ।’
उहाँका अनुसार शिला लिनका लागि अयोध्याबाट गुरु राजेन्द्रसिंह पंकज पोखरा आइपुग्नुभएको छ । नेपालका तर्फबाट उपहार भएकाले शिला उत्खनन गरी अयोध्यासम्म पु¥याउने जिम्मा प्रदेश सरकारको रहने चालिसेले बताउनुभयो । ‘बेनी आएको टोलीले दुईचारवटा शिलाको अध्ययन गरेको छ । कुन लैजाने टुंगो लगाएपछि बेनी नगरपालिकाले आवश्यक सहयोग गर्दछ,’प्रमुख केसीले भन्नुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।