ठाकुरप्रसाद आचार्य/म्याग्दी
पुस १२० गते ।
बजेट अभावमा वर्षौ देखि थला परेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ बेंसी देखि लेकगाउँ जोड्ने सडक योजना गाउँमा जलविद्युत आयोजना भित्रिएसँगै निर्माण भएको छ । सडक निर्माण गर्न गाउँलेहरुले चन्दा सहयोग र जग्गाधनी पुर्जा बैंकमा धितो राखेर रकम जोह गरेर १० वर्ष अघि सडक निर्माण थालेपनि आवश्यक रकम जुटाउँदा नसक्दा सडक योजना थला परेको थियो ।
गाउँमा भित्रिएको ६ मेगावाट क्षमताको रेले खोला जलविद्युत आयोजनाले वर्षौ देखि थला परेको सडक निर्माण गरिदिएपछि दुर्गम लेक गाउँ सडक सञ्जालसँग जोडिन पुगेको हो । आयोजनाले बेंसी देखि लेकगाउँ सम्म ५ किलोमिटर सडक गत वर्ष निर्माण गरिदिएको थियो । मिस्त्री खोला जलविद्युत आयोजनाले कालिगण्डकीमा बेलिब्रिज निर्माण गरेपछि बेंसी सम्म सडक पुगेको थियो ।
बेशीदेखि लेक गाउँबीचको हकली गौडाको अक्करे भीर फुटालेर सडकको ट्रयाक खोल्न नसक्दा वर्षौदेखि योजना थला परेको लेकगाउँका स्थानीय श्याम पुर्जाले बताउनुभयो ।
‘गाउँलेहरुले एकदशक अघि सडक निर्माण गर्न सामुहिक रुपमा लालपूर्जा बैंकमा धितो राखेर ऋण निकालेर सडक निर्माणमा खर्चिएका थिए । तर गाउँमा सडक पु¥याउन सकिएको थिएन । लेक गाउँमा जलविद्युत आयोजना भित्रिएसँगै थला परेको योजनाले पूर्णता पाएको छ । हाम्रो मोटर चढ्ने वर्षौदेखिको अधुरो सपना पुरा भएको छ,’ पुर्जाले भन्नुभयो ।
तत्कालिन समयमा जिल्ला विकास समिति र चन्दा सहयोगबाट लाखौं रुपियाँ खर्च गरेपनि अक्करे भीर छिचोल्न नसक्दा लेकगाउँमा सडक पु¥याउन सकिएको थिएन स्थानीय पुर्जाले भन्नुभयो ‘गाउँमा निर्माणधिन जलविद्युत आयोजनाले पहुँचमार्ग निर्माण गर्दा अफ्ठ्यारो र कठिन मानिएको भीर फुटालेर सडक ट्याक खोलिदिएपछि लेकगाउँमा सरर मोटर गुडेका छन् । हाम्रा लागि जलविद्युत आयोजना भगवान आए सरह भएको छ ।’
भीरमा सडक निर्माण गर्न जलविद्युत आयोजनालाई करिब ४ वर्ष लागेको रेले खोला जलविद्युत आयोजनाका इञ्जिनियर आयुष भट्टराइले बताउनुभयो । अक्करे भीर फुटालेर ट्रयाक खोल्न निकै चुनौती थियो उहाँले भन्नुभयो ‘सडक खुलेसँगै आयोजनाका लागि निर्माण सामाग्री ढुवानी गर्न र स्थानीयवासीलाई आवतजावतमा सुविधा पुगेको छ ।’
बेंशी देखि लेकगाउँ सम्म करिब २२ भन्दा बढी घुम्तीहरु छन् भने उक्त अक्करे भीरमा मात्र ११ वटा घुम्ती छन् । ग्रेड मिलाएर सडक फराकिलो पारिएको छ । सडक निर्माण पछि लेकगाउँका करिब एकसय पचास घरधुरीलाई सडक सुविधा पुगेको वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।
स्थानीयबासीको चन्दा सहयोग, तत्कालीन जिबिस र गाउँपालिकाले डेढ करोड रुपियाँ भन्दा बढी खर्च गरेपनि बेंशी देखि लेकगाउँ जोड्ने सडकको बिचमा रहेको पहाड छिचोल्न नसक्दा लेकगाउँमा सडक पु¥याउन सकिएको थिएन वडा अध्यक्ष फगामीले भन्नुभयो ‘गाउँमा जलविद्युत आयोजना भित्रिएपछि लेकगाउँमा सडक पु¥याउने हाम्रो सपना पुरा भएको छ ।’
सडक निर्माण भएसँगै लेकगाउँमा उत्पादित कृषि उपजको बजारीकरण,खाद्यन्न ढुवानी र आवतजावत गर्न सुविधा भएको उहाँले बताउनुभयो । वर्षातका समयमा पनि आयोजनाले नै सडक मर्मत सम्भार गरिदिने भएपछि वाह्ैमहिना सडक सञ्चालनमा आएको छ । लेकगाउँका स्थानीवासीहरु सडक सुविधा नहुँदा दुईघण्टा पैदल हिड्नपर्ने बाध्यता रहेकोमा सडक बनेसँगै २० मिनेटमा पुग्न सकिने भएपछि स्थानीयहरु खुसी भएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ