किन रोकियो बेनीमा निर्माणधिन रामायण पार्क योजना ?

ठाकुरप्रसाद आचार्य/बेनी
पुस १६ गते ।

म्याग्दीको बेनीमा निर्माणधिन रामायण पार्क योजना बजेट अभाव भएपछि अलपत्र परेको छ । बेनी नगरपालिका ५ पछैलाई धार्मिक स्थलका रुपमा विकास गर्ने उद्देश्यले डेढ वर्ष अघि रामायण पार्क निर्माण योजना थालिएको थियो । संघीय सरकार अन्तर्गतको पर्यटन मन्त्रालयले चालु आर्थिक वर्षका लागि बजेट विनियोजन नगरिदिएपछि योजना अलपत्र परेको हो । समयमै योजनाको प्रगति प्रतिवेदन नगरका कर्मचारीले नपठाएका कारण योजनामा बजेट काटिएको हो ।

रामायण पार्क बनाएर विश्वरभरका हिन्दु धर्मालम्बीहरुको तिर्थस्थलका रुपमा विकास गर्ने उद्देश्यले रामायण पार्क बनाउने योजाना नगरले अघि सारेको र पछिल्लो वर्ष संघीय सरकारले रकम नपठाउँदा अहिले योजना अलपत्र परेको नगरप्रमुख सुरत केसीले बताउनुभयो । योजनालाई निरन्तरता दिन पहल भइरहेको उहाँले बताउनुभयो । कर्मचारीको लापरबाहीका कारण बजेट काटिएको उहाँको भनाई छ ।

संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्रालय र नगरपालिकाको साझेदारीमा पछैमा रामायण पार्क (उद्यान)निर्माण सरु गरेपनि मन्त्रालयबाट पछिल्लो वर्ष रकम विनियोजन नहुँदा योजना अलपत्र अवस्थामा परेको नगर प्रमुख केसीले बताउनुभयो । योजनालाई निरन्तरता दिन संघीय सरकारसँग आवश्यक बजेट माग गर्न प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो ।

पार्क निर्माणका लागि संघिय सरकारले करिब २ करोड ११ लाख र बेनी नगरको एककरोड १४ लाख गरी ३ करोड २५ लाख रुपियाँ बराबरको लागत अनुमान गरिएको थियो । योजना कार्यन्वनय गर्न २०७८ भदौं १५ गते बेनी नगरले धर्म एस काश्यप जेभी सँग १७ महिनामा सक्ने गरी एक करोड ७६ लाख ७७ हजारमा ठेक्का सम्झौता गरेको भएको थियो ।

योजनामा हाल सम्म करिब २५ प्रतिशत भौतिक प्रगति भएको बेनी नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले बताउनुभयो । हाल सम्म गार्डेन,कम्पाउण्ड र १० वटा टाउका भएको २० फिट अग्लो पित्तलको रावणको मुर्ति बनाउने काम सकिएको उहाँले बताउनुभयो । मन्दिर भित्र पार्क,पुराना संरचनाको मर्मत, वाहिर पर्खाल र पार्क सहित रावणको मुर्ती स्थापना गर्ने योजनामा उल्लेख भएको बेनी नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले बताउनुभयो ।

पुलह पुलत्स्य क्षेत्रको १४ रोपनी जग्गा मध्य पहिलो चरणमा चार रोपनीमा रामायण पार्क बनाउन लागिएको हो । हालको मन्दिर,हवन कुण्ड,रावणको नाभी गाडेको ठाउँ लगायत पुरानो संरचनालाई यथावत राखेर पुर्वाधार बनाउन सुरु गरिएको थियो । रावण पार्क बनाउन २३ करोड रुपियाँ लागत बराबरको गुरुयोजना तयार पारिएको छ । पुलह,पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको पुराणमा ब्याख्य गरिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ