म्याग्दीका बंगुर फार्ममा अफ्रिकन स्वाइन फिभर संक्रमण

विकल्प न्यूज/बेनी
पुस १५ गते ।

म्याग्दीका बङ्गुर फार्महरुमा अफ्रिकन स्वाइन फिभर संक्रमणका कारण बङ्गुरहरु मर्न थालेपछि फार्महरु रित्तिन थालेका छन् । एकसाता यता बङ्गुर फार्महरुमा स्वाइन फिभरको संक्रमण फैलिएको छ ।

सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा किसानले पालेका बङ्गुरमा संक्रमण देखिएपछि हालसम्म ३ सयभन्दा बढी बङ्गुर मरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले जनाएको छ । व्यवसायिक रुपमै पालिएका बङ्गुर मर्न थालेपछि विज्ञ केन्द्रको टोलीले गरेको अनुगमन तथा केही फार्मबाट लिइएको नमुनामा अफ्रिकन स्वाइन फिभर पुष्टी भएको विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बताउनुभयो ।

पहिलो पटक पोखराबाट ल्याइएको उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, नौलीबगरको बङ्गुरमा पशुपन्छी अन्वेषण प्रयोगशाला परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभरको पुष्टि भएको थियो । नौलीबगरमा ४० भन्दा बढी बङ्गुर मरेपछि केन्द्र र गाउँपालिकाको पशु सेवा शाखा सहितको टोलीले अनुगमन गरेको थियो । बङ्गुर फार्मबाट लैजाने मासु पसल सहित जोखिमपूर्ण मानिएका स्थानमा उच्च निगरानी राखिएको छ ।
बेनी नगरपालिका–७, मंगलाघाटमा साढे २ सय बङ्गुर मरेको अवस्थामा भेटिएको बेनी नगरको पशु शाखाले जनाएको छ । ‘फिभरको इन्ट्री भएको छ, ‘अहिले रोकथाम र नियन्त्रणका विधि प्रयोगमा केन्द्रित छौ’ पशु प्राविधिक प्रदिप गौतमले भन्नुभयो ‘यहाँबाट अन्यत्र पनि संक्रमण फैलिएको हुन सक्छ भनेर केही ठाउँमा परीक्षण गरिएको छ’ गौतमले भन्नुभयो ।

बेनीका रनबहादुर बुढाथोकीको ४२, श्यामकुमार गोतामेको ४०, बिना गोतामे ५, टकबहादुर बुढाथोकीको ६५ वटा, टिका रोकाको २६ वटा पूर्वराज घर्तीको ७ वटा’ बङ्गुर मरेको विवरण संकलन भएको उहाँले बताउनुभयो । समयमै नियन्त्रणमा सतर्कता नअपनाए यो रोगबाट म्याग्दीमा करोडौँको क्षति हुने हुने भन्दै बङ्गुरपालक किसानहरु चिन्तत भएका छन्