पत्रकार गौतमलाई ‘मिडिया सोसाइटी अवार्ड’

विकल्प न्यूज\बेनी
पुस १३ गते ।

म्याग्दीका क्रियाशिल पत्रकार सन्तोष गौतमालई मिडिया सोसाईटी अवार्ड २०७९ प्रदान गरिएको छ । म्याग्दी मिडिया सोसाइटीका छैठौ वार्षिक साधारणसभाको अवसरमा अन्नपूर्ण गाउँपालिका–४ स्थित पर्यटकीय स्थल नारच्याङ झरना परिसरमा बुधबार आयोजित समारोहमा आठ हजार ८०० नगद रुपैयाँ सहित गौतमलाई पुरस्कृत गरिएको हो । गौतम डेढ दशक यता जिल्लाको पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेल, संस्थाका अध्यक्ष कमल खत्री, संस्थापक अध्यक्ष गोपाल छन्त्याल, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, अन्नपूर्ण–४ का वडा अध्यक्ष लोकबहादुर फगामीले गौतमलाई नगद, सम्मानपत्र प्रदान र दोसल्ला ओडाउनुभएको थियो ।

नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सचिव समेत रहेका गौतम वि.स. २०७५ देखि अन्नपूर्णमा आवद्ध छन् । वि.स. २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चार माध्यमका सञ्चालकहरु आवद्ध सोसाइटीले वि.स. २०७५ देखि वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको सचिब अमित विश्वकर्माले जानकारी दिए ।

दुई लाख रुपैयाँको अक्षयकोषको ब्याजबाट जिल्लामा दश वर्षदेखि काम गरेका एक जना संस्थाका सदस्य पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि ठाकुरप्रसाद आचार्य, अमित विश्वकर्मा, प्रताप बानिया र हरिकृष्ण गौतम सम्मानित भएका थिए ।

सो कार्यक्रममा गाउँपालिका अध्यक्ष पुनले ग्रामिण क्षेत्रका समस्या र सम्भावना उजागर गर्दै विकास र शुसासनका मुद्दालाई प्राथमिकता दिन पत्रकारहरुलाई आग्रह गरे । स्थानीय पत्रकारको संरक्षण र सञ्चार माध्यमको सवलीकरणका लागि गाउँपालिका तयार रहेको अध्यक्ष पुनले बताए । पत्रकार महासंघ म्याग्दीका अध्यक्ष पौडेलले जिल्लामा पत्रकारिताको विकासका लागि स्थानीय सञ्चार माध्यमको सवलीकरण हुन आवश्यक रहेको बताए ।

सोसाइटीले स्थानीय तह र जिल्लाका कार्यालयले सञ्चार माध्यमलाई बिनियोजन गरेका बजेट स्थानीय सञ्चार माध्यम मार्फत परिचालन, सार्वजनिक सुनुवाई, वृत्तचित्र निर्माण र पत्रकारिता तालिम सञ्चालन गर्दै आएको छ ।

साधारणसभाले पत्रकारिता, स्थानीय सञ्चार माध्यम, विकास र पर्यटन विकास सम्बन्धि सात बुदे नारच्याङ घोषणापत्र जारी गरेको छ ।
फोटो पनि साथमा छ ।