धमाधम निर्माण हुँदै बेगखोलामा पक्की पुल

ठाकुरप्रसाद आचार्य /म्याग्दी
पुस ९ गते ।


म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा मोटरेबल पुल निर्माण तिव्र पारिएको छ । ठेक्का सम्झौता मिति भन्दा अगावै योजना सम्पन्न गर्नेगरी सडक विभाग र निर्माण व्यवसायी जुटेका छन् । बेगखोलामा पुल नहुँदा विगत ६ वर्षदेखि खोलामा यात्रुले सास्ती भोग्दै आएका छन् । पुल बनाउन सरोकारवाला निकायले ध्यान नदिएको भन्दै चर्कोरुपमा आलोचना हुँदै आएको थियो ।

राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर बेनी–जोमसोम कोरला सडक अन्तर्गत पर्ने बेगखोलामा निर्माण हुन लागेको मोटरेबल पुल निर्माण कार्यले गति लिएको छ । सडक विभाग अन्तर्गत रहेको पुल महाशाखा काठमाण्डौले बेगखोलामा ७० मिटर लामो र ११ मिटर चौढाई भएको डबल स्पामको पुल निर्माणका लागि बीओकेआई/ हिमालयन जेभीलेसँग भ्याटसहित ८ करोड ३० लाख रुपियाँमा २०७८ असार २९ गते ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता लगत्तै ठेकेदार कम्पनी योजनास्थलमा खटिएर निर्माणमा जुटेको थियो ।

पुल निर्माणका लागि सम्झौता गरेको निर्माण कम्पनीले योजनास्थलमा यतिखेर मजदुर र उपकरण परिचालन गरेर निर्माण कार्यलाई तिव्रता दिएको छ । योजनाको अनुगमन र सुपरिवेक्षणको जिम्मा पाएको पुल सेक्टर पोखराका इन्जिनियर आशीक रिजालले तोकिएको समयभित्र पुल निर्माण सम्पन्न गर्न कार्यालयका तर्फबाट नियमित रुपमा निर्माण कम्पनीलाई ताकेता गरिएको बताउनुभयो ।

इन्जिनियर रिजालले दिएको जानकारी अनुसार निर्माण कम्पनिले उपकरण सहित मजदुर जुटाएर पुल निर्माणलाई गति दिएको छ । वर्षातका समयमा बेगखोलामा पुल नहुँदा सर्वसाधरणहरुले निकै सास्ती र दुःख भोगेका कारण पुल समयमै सम्पन्न गर्न कार्यालयले प्राथमिकताका साथ काम गरेको उहाँको भनाई छ ।

Adv

रिजालका अनुसार योजनाको अहिलेसम्म करिब ४५ प्रतिशत भौतिक प्रगति भएको छ । पुलको जग बसाल्ने,वारीपारीका दुईवटा र बीचको गरी तिनवटा पिल्लर उठाइसकिएको इन्जिनियर रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार अवको एकहप्ता भित्र पिल्लरमाथि क्याब निर्माण गरिनेछ । चालु आर्थिक वर्षभित्रै पुलको मुख्य संरचना निर्माण सक्नेगरी काम अगाडि बढाइएको इन्जिनियर रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगमी २०८० चैत २८ गतेभित्र योजना सम्पन्न सम्झौतामा उल्लेख गरिएपनि बेगखोलामा वर्षातका समयमा सवारीसाधन वारपार गर्न निकै दुःख र सास्ती भोग्नुपरेकाले छिटो पुल निर्माण गर्न कार्यालय जुटेको उहाँले बताउनुभयो ।

बेगखोलामा पुल नहुँदा वर्षातका समयमा सवारीसाधनहरु आवतजावतमा निकै समस्या भोग्नुपरेको छ । २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा रहेमो बेलिव्रिज र झोलुङ्गे बाढीले बगाएको थियो । खोलामा पक्की पुल नहुँदा म्याग्दीको उत्तरी भेगका स्थानीय र मुस्ताङको भ्रमणमा आउने पर्यटक,तिर्थयात्री र सर्वसाधारणहरुले वर्षातका समयमा आउने बाढीका कारण विगत ६ वर्ष देखिे सास्ती भोग्दै आएका छन् ।