ठाकुरप्रसाद आचार्य/म्याग्दी
पुस २ गते ।
म्याग्दीको भुरुङ तातोपानीमा खुलेको नयाँ होटलले यस क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई उच्चस्तरको सुविधा दिएको छ । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ तातोपानीमा करिब ३५ करोड रुपियाँ लगानी गरेर होटल नेचुरल स्प्रिङ सञ्चालनमा ल्याइएको हो । अन्नपूर्ण पदमार्ग र जोमसोम भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर युवा व्यवसायी राजु हमालले यस क्षेत्रकै ठूलो होटल तिनमहिना अघिदेखि संचालनमा ल्याउनुभएको थियो ।
#Adv
होटल संचालमा आएपछि मुस्ताङ,घोडेपानी,पुनहिल लगायतका पर्यटकीय स्थलहरुको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सुविधा पुगेको विश्वास गरिएको छ । म्याग्दी र मुस्ताङको भ्रमणमा आउने पर्यटकलाई उच्चस्तरको सेवा दिन आफूले ठूलो लगानी गरेर होटल संचालनमा ल्याएको सञ्चालक हमालले बताउनुभयो । होटलमा रोयल, डिलक्स र साधारण गरी तीन स्तरका सुविधा सहितको ५७ वटा कोठाहरुको व्यवस्था गरिएको छ । होटल संचालनमा आएसँगै पर्यटकले अग्रिम रुपमा कोठा बुकिङ गर्न थालेका छन् ।
करिब ८ रोपनी क्षेत्रफलको जग्गा व्यवस्थापन सहित तीन बर्षको अवधिमा होटललाई आवश्यक पर्ने ६ तलाको भवन निर्माण गरेको उहाँले बताउनुभयो । हमालले यसअघि सदरमुकाम बेनीमा फेन्सी व्यवसाय गर्दै आउनुभएको थियो । होटलमा एक दिनमा करिब २ सय जनालाई राख्न सकिने क्षमता रहेको छ । म्याग्दी र मुस्ताङको पर्यटन क्षेत्रमा नयाँ उत्साह थप्नका लागि होटल सञ्चालनमा ल्याएको सञ्चालक हमालले बताउनुभयो ।
लगानी अनुसारकै स्तरीय सेवा र सुविधा ग्राहकलाई उपलब्ध गराएको सञ्चालक हमालले बताउनुभयो । पार्कीङ सहित दृष्य अवलोकनका लागि कृतिम झरना,लगायतका आकर्षक भौतिक संरचनाहरु निर्माण गरिएको छ । होटलमा एकसय ५० जना क्षमताको सेमिनार हलको व्यवस्था छ । होटल परिसरमै मसाज, क्याफे र लोकलमार्ट संचालन गरिएको छ । होटलका सबै कोठाहरुबाट कालीगण्डकी नदी र अन्नपूर्ण हिमश्रृङ्खलाको अवलोकन समेत गर्न सकिने सुविधा रहेको छ ।
लगानी, पूर्वाधार निर्माण र क्षमताको हिसाबले यस होटललाई धौलागिरी क्षेत्रकै ठूलो क्षमताको मानिएको तातोपानी टोल सुधार समितिका सचिब एवम् पर्यटन व्यवसायी अमृतमान शेरचनले बताउनुभयो । ठूलो होटल खुलेपछि तातोपानीका पर्यटनव्यवसायीहरु उत्साहित बनेको उहाँको भनाई छ ।
म्याग्दी हुँदै मुस्ताङ आवत जावत गर्ने पर्यटकहरुका लागि यो होटलले निकै ठूलो सुविधा लिएर आएको छ शेरचनले भन्नुभयो ‘बेनी–जोमसोम सडकखण्डको म्याग्दी क्षेत्रमा पर्यटकहरुलाई आरामदायी सुविधा सहितको होटल सञ्चालनमा आएपछि यस क्षेत्रका पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् ।’ होटल सञ्चालनमा आएसंगै भुरुङ तातोपानी बजारमा साना ठूला होटलमा गरी एक रातमा करिब १ हजार जनालाई राख्न सक्ने क्षमता विस्तार भएको छ ।
पोखरादेखि कुस्मा, बेनी हुँदै हिमाल पारिको जिल्ला मुस्ताङ जाने एकमात्रै सडक बेनी–जोमसोम–कोरला सडकमा पर्ने यस होटलका कारण प्राकृतिक तातोपानीको कुण्डमा आउने पर्यटकहरुको चाप बढ्ने र पर्यटकहरुको बसाई व्यवस्थापन र भ्रमण अवधि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको पर्यटन व्यवसायी शेरचनले बताउनुभयो । म्याग्दीको पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले करोडौं लगानी गरेर आफूले होटल सञ्चालन गरेको संचालक हमालले बताउनुभयो । होटलमा ६० जनालाई रोजगारी समेत दिएको उहाँले बताउनुभयो । साभार: आजकाे गाेरखापत्र दैनिकमा समाचार छ