जलविद्युत र पर्यटनका योजनामा म्याग्दीवासीसँग सहकार्य गर्दछौं ः वरिष्ठ उपाध्यक्ष ढकाल

विकल्प न्यूज/बेनी
मंसिर २४ गते ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिजय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले म्याग्दीका उद्योगी व्यवसायीले अघि सार्ने जलविद्युत र पर्यटनका योजनामा सहकार्य गर्ने बताउनुभएको छ ।

म्याग्दी जलविद्युत र पर्यटन विकासको राम्रो संभावना भएको जिल्ला भएकाले यहाँको स्थानीय तह,निजी क्षेत्र लगायत मिलेर योजना अघि बढाएमा नेपाल उद्योग वाणिज्य महासंघ सहकार्य गर्न तयार भएको उहाँको भनाई थियो ।

म्याग्दी उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्न बेनी आउनुभएका वरिष्ठ उपाध्यक्ष ढकालले म्याग्दीमै आफूहरुले जलविद्युत आयोजना अगाडि बढाएको बताउनुभयो । कालिगण्डकी नदीको पानीबाट १५० मेगावाटको जलविद्युत परियोजना निर्माणको तयारी थालिएको उहाँको भनाई थियो ।

नेपाल सरकारले १५ सय मेगावाटको पीपीए गर्ने भन्ने निर्णय भइसकेकाले त्यही समयमा यस क्षेत्रको पनि पीपीए हुने उहाँको भनाइ छ । अन्य काम सबै भएकाले अब पीपीएपछि निर्माणको काम थालनी हुने ढकालले बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले आर्थिक क्षेत्रमा देखिएका समस्यालाई तत्काल समाधानगरि अर्थतन्त्रलाई गतिदिनुपर्ने बताउनुभएको छ । कोरोना महामारीका कारण निजी क्षेत्र अहिले ठूलो संकटपूर्ण अवस्थाबाट गुज्रिरहेकाले सरकारले आर्थिक क्षेत्रलाई संकटबाट बचाउन आवश्यक नीति र योजना ल्याउनुपर्ने उहाँको भनाई थियो । ‘अहिले देखिएका समस्याहरु समाधान गर्न निजी क्षेत्र सरकारसँग निरन्तर संवाद,छलफल र वार्ता गरिरहेका छौं । चाँढै नै सुखद नतिजा आउने विश्वास छ ।’ वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले तरलताको समस्याको समाधानका लागि निजी क्षेत्रले सरकारसँग कुराकानी र छलफल गरिरहेको बताउनुभयो । अहिले आर्थिक क्षेत्रमा देखिएका समस्याबाट निकास दिँदै समग्र अर्थतन्त्रलाई गति दिने काम सरकारले गर्नुपर्ने उहाँले धाराणा व्यक्त गर्नुभयो ।

सरकारी स्तरबाट संचालन भएका विकास योजनाहरुमा देखिएको ढिलासुस्ती, तरलताको समस्या र मूल्यवृद्धि अहिले देखिएका मुख्य समस्याहरु भएको वरिष्ठ उपाध्यक्ष ढकालले बताउनुभयो । ति समस्याहरु तत्काल समाधान गरिनुपर्ने उहाँले सरकारसँग माग गर्नुभयो ।
वरिष्ठ उपाध्यक्ष ढकालले देशैभरी हुने मेला महोत्सवहरू उद्योग वाणिज्य महासंघका सदस्यले मात्रै गर्नुपर्छ भन्ने माग आफूहरूले नेपाल सरकार समक्ष राखेको र त्यसलाई कार्यान्वयनको पाटोमा लैजाने पनि बताउनुभयो ।

जिल्लाका स्थानीय तहहरूले सम्भावित आयोजनाहरू, हाइड्रो, पर्यटन, तथा सम्भावित पर्यटन प्रवर्द्धनको सम्भावना रहेको क्षेत्र पहिचान गर्नुपर्ने र त्यसको बारेमा आफूहरूले जानकारी पाएको खण्डमा त्यस क्षेत्रमा निजी क्षेत्रले लगानी गर्ने ढकालको भनाइ छ । कुनै पनि क्षेत्रमा उद्योग, व्यवसाय तथा उत्पादन मूलक क्षेत्र साझेदारीमा सञ्चालन गर्न प्रयास हुने उहाँले बताउनुभयो ।

साधारणसभामा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले जिल्लाको समग्र विकास निर्माण,व्यवसायीका समस्या र चुनौतीका वारेमा जानकारी गराउनुभएको थियो । साधारणसभा बोल्ने उद्योगी व्यवसायीका प्रतिनिधिहरुले उद्योगी व्यवसायीका समस्याहरु समाधान गर्न निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले अभिभावकीय भूमिका खेल्नुपर्ने विचार व्यक्त गरेका थिए ।

साधारणसभा संघका महासचिव अमित बानियाँले गर्नुभएको थियो । जिल्ला स्थित राजनीतिक दल,जनप्रतिनिधि लगायतले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।