बेनी बजारका पुराना धर्मचौतारी मर्मत अभियान

विकल्प न्यूज/बेनी
मंसिर २३ गते ।

मर्मत सम्भार गरेर चिटिक्क पारिएको बेनी नगरपालिका ७ स्थित बेनीबजारमा रहेको वर्षौ पुरानो चौतारी । तस्विर ठाकुरप्रसाद आचार्य

बेनी बजारमा रहेका वर्षौ पुराना धर्म चौतारीको संरक्षण थालिएको छ । बेनी नगरपालिका वडा नम्बर ७ को बजार क्षेत्र भित्र रहेका करिब ७० देखि ८० वर्ष पुराना धर्म चौतारीको मर्मत अभियान थालिएको छ । यो वर्ष चारवटा पुराना चौतारीहरुको मर्मत सम्भार गरेर चिटिक्क पारिएको छ ।
‘बाउबाजेले हिजाका दिनमा धार्मिक पुण्य प्राप्त गर्न बजार बजार क्षेत्रमा धर्म चौतारी चिन्ने,वरपिपल र समीको विरुवा रोप्ने गर्नुभएको थियो । तिनै चौतारीमा बसेर हामी पनि हुर्कियौं । तर अहिले ति चौतारीको संरक्षण नुहँदा जिर्ण बनेका छन् । बजार क्षेत्रभित्र रहेका करिब १७ वटा चौतारीको मर्मत सम्भार गर्ने योजना वडाले अघि सारेको छ ।’ बेनी नगरपालिका ७ का वडाअध्यक्ष रमेशकुमार श्रेष्ठले भन्नुभयो । केही वर्ष पहिला बेनीका पुराना चौतारी मासेर व्यवसायिक टहरा बनाउने गरिएको थियो । त्यसबेला बजारवासीले उक्त कार्यको विरोध गरेका थिए । तर अहिले वडाले पुरानो चौताराहरुको संरक्षण अभियान थालेपछि स्थानीयवासीहरु दङ्ग परेका छन् ।

गाउँबाट बजार झरेका सर्वसाधारणहरुले भारी बिसाउने र बटुवाले थकान मेटाउनका लागि पुण्य र धर्मको लागि परम्परागत रुपमा बनाइएका चौतारीहरु संरक्षणको अभावमा जिर्ण अवस्थामा पुगेका थिए । चौतारी हाम्रो सभ्यता पनि हो र यसले वातावरणीय सन्तुलन कायम राख्न पनि सहयोग पु¥याउँछ वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ‘हाम्रो वडा भित्र मात्रै १७ वटा परम्परागत चौतारी र एकवटा पोखरी रहेछन् । यो वर्ष चारवटा चौतारी मर्मत सम्भार गरेका छौं वाँकी क्रमिक रुपमा मर्मतसम्भार गर्दै जान्छौं ।’

उहाँका अनुसार, एक बर्षको अवधिमा चार वटा चौतारीहरुको संरक्षण र पुननिर्माण गरिएको छ । नगरपालिका कार्यालयको प्रवेशद्धारमा रहेको चौतारीको मर्मतसम्भार गरेर चिटिक्क पारिएको छ । सरकारी कामकाज लिएर गाउँबाट झरेका सर्वसाधरणहरुलाई चौतारीमा आरम गर्न सहज भएको छ ।

स्वामीको बोटमुनीको उक्त चौतारी जिर्ण बनेको थियो । चौतारीको सिँढी मर्मतसंगै अगाडीको भागमा म्याग्दीका पर्यटकीय स्थलहरुको पहिचान झल्कने होडिङ बोर्ड समेत राखिएको छ । चौतारीको एक भागमा सडकमा छोडिएका गाईहरुले पानी खाने ठाउँ समेत बनाइएको छ । पक्की चौतारीमा ढुंगा छपाएर मौलिकता दिने वडा वडाध्यक्षको योजना छ । चौतारी मर्मतका लागि चालु आर्थिक वर्ष २०७९÷८० मा बेनी नगरपालिकाले नौ लाख ५० हजार विनियोजन गरेको र सो बजेटबाट तीन वटा चौतारी र एक विश्रामस्थल पुननिर्माण तथा मर्मत गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

नगरपालिका अगाडी दिवंगत भैसक्नुभएका किर्तिकुमार श्रेष्ठ, बेनी सामुदायिक अगाडी तुलबहादुर शाक्य र दोभानमा चन्द्रशेखर श्रेष्ठले चौतारा र नरबहादुर बानियाँले दोभानमा मलामी विश्रामस्थल बनाउनुभएको थियो । तत्कालिन समयमा चौतारा बनाउने व्यक्तिहरु दिवंगत भैसकेकाले उहाँहरुको आफन्त र घरपरिवारसंग समन्वय गरेर जिर्ण बनेका चौतारीहरुलाई पुर्नजिवित गर्ने काम गरिएको हो ।

यसैगरी कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको चौतारीमा समेत पुजाआजा र तर्पण दिन सहज होस् भनेर फराकिलो चौतारी बनाइएको छ । चौतारी बनाएका दातासँग समन्वय गरेर वडा कार्यालयले जिर्ण अवस्थामा रहेका सबै धर्म चौतारीहरुको आगमी दिनमा मर्मत र संरक्षण गर्ने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । ‘त्यस्ता पुराना धार्मिक चौतारीहरु हाम्रो समाजका जिवन्त पहिचान र सभ्यता भएकाले संरक्षण गरेर जोगाई राख्नु हाम्रो दायित्व हो ।’वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । साभारः गोरखापत्र अनलाइन