बेनी नगरले विरेन्द्रचोकका टहरा हटाएर सडक फराकिलो बनाउने

ठाकुरप्रसाद आचार्य/म्याग्दी
मङ्सिर १८ गते ।

बेनी नगरपालिकाले विरेन्द्रचोक आसपासका टहरा र व्यवसायीक टंकी हटाएर सडक फराकिालो बनाउने भएको छ । सडक छेवैमा वर्षौ देखि टहरा र टंक राखेर व्यवसाय गर्दै आएका व्यवसायीलाई ठाउँ खालि गर्न नगरले ३५ दिने सूचना जारी गरेको हो । सडक अतिक्रमण गरेर बसेका कतिपय टहरा र टंकीले नगरलाई बुझाउनुपर्ने भाडा समेत अटेर गर्दै आएका छन् ।

भाडा बुझाउन नगरले पटक पटक ताकेता गर्दा पनि अटेरी गर्दै आएका छन् । कतिपय टहरा र छाप्रा त एकआपसमा लाखौं रकममा खरिद विक्री हुने गरेको तथ्य सहित केही महिना अघि समाचार समेत प्रकाशित भएको थियो ।

सडक छेउछाउमा बसेका ११ जनाका नाममा ३५ दिन भित्रमा ठाउँ खाली गरिदिन भन्दै नगरले मंसिर १५ गते सार्वजनिक सूचना जारी गरेको छ । मंसिर १३ गतेको कार्यपालिकाको वैठकले उक्त स्थानका टहरा हटाउने निर्णय गरेको जारी सूचनामा उल्लेख गरिएको छ । ३५ दिनभित्र आफै ठाउँ खाली नगरे नगरपालिकाले बल प्रयोग गरेर खाली गर्ने चेतावनी समेत सूचनामा दिइएको छ । विरेन्द्रचोक,बेनी सामुदायिक विद्यालयको चोक,नेपाल टेलिकम अगाडि र नगर गेट अगाडी वर्षौदेखि ठेला र टहरा हालेर बसेका छन् ।

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ मार्फत बिरेन्द्रचोक देखि नगरपालिका कार्यालय अगाडीसम्म नाली निर्माण,बेनी सामुदायिक विद्यालय अगाडीको चोकलाई फराकिलो पार्ने योजनाका लागि ९७ लाख रुपियाँ रकम विनियोजन भएको नगरप्रमुख सुरत केसीले जानकारी दिनुभयो ।

बेनी सामुदायिक विद्यालयको गेट अगाडी हिउदमा धुलो र बर्षातका समय हिलो हुने गरेको छ । बेनी देखि दरबाङ,अर्थुङ्गे,पुलाचौर,पाखापानी जाने सवारीसाधन पनि यही चोकहुँदै जाने भएकाले साघुरो भएको छ नगर प्रमुख केसीले भन्नुभयो ‘विरेन्द्रचोक देखि नगर गेट सम्मका सवै टहरा,व्यवसायीक टंकी र ठेला हटाएर नाली सहित सडक फराकिलो बनाउने र ढलान गर्ने नगरको योजना छ ।’ सडक अतिक्रमण गरेर बसेका ठेला,टहरा र टंकीलाई हटाएर सडक फराकिलो बनाउनुपर्ने नगरवासीहरुले विगत देखिनै माग गर्दै आएका थिए ।

विरेन्द्रचोक स्थित वन डिभिजनले र सामुदायिक प्रहरी सेवा केन्द्रले प्रयोग गरेको जमिनको केही भाग बेनी नगरको भएकाले उक्त स्थानलाई खाली गराएर पार्क बनाउने योजना भएको नगरप्रमुख केसीले बताउनुभयो । ‘बेनीकै मुटु भएकाले यो क्षेत्रलाई अतिक्रमणमुक्त बनाएर हरियाली पार्क बनाउँछौं ।’ नगरप्रमुख केसीले भन्नुभयो ।

तत्कालिन अर्थुङ्गे गाविस हुँदा सडक मापदण्ड मिचेर बनाइएका टहरा र व्यवसायीक टंकी हटाएर सडक फराकिलो पार्न बजारवासीले माग गर्दै आएका थिए । स्थानीय संचारमाध्यमहरुले पनि यो विषयलाई पटक पटक उठाउने गरेका थिए । जिल्ला प्रशासन,जिल्ला अदालत,जिल्ला समन्वय र पूर्वाधार विकास कार्यालय लगायतका कार्यालय रहेको विरेन्द्रचोकलाई फराकिलोका साथै पार्क बनाउने योजनाको नगरवासीले स्वागत गरेका छन् । वर्षौ देखि उठाउँदै आएको मागको सुनुवाई हुनलागेको भन्दै विरेन्द्रचोकवासीहरु उत्साहित भएको छन् ।