जिप दुर्घटना अपडेट ः ६ जना घाइते बेनी अस्पतालमा उपचारपछि घर फर्किए

विकल्प न्यूज\बेनी
कात्तिक ३० गते ।

 पर्वतको जलजला गाउँपालिका ३ पर्वत बेनी देखि वडा नम्बर २ माझफाँटको रातढुङ्गा जाँदै गरेको जिप बुधबार साँझ भुर्तुलाको भीरबाट खस्दा एकजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

यात्रु लिएर मल्लाज चोकबाट हिडेको ग १ ज ५२९६ नम्बरको बोलेरो जीप भुर्तुलाको भीरमुनी सडक देखि एकसय पचास मिटर तल खसेर दुर्घटना भएको मिलनचोक प्रहरी चौकीका हवल्दार धनशिंह कुँबरले जानकारी दिनुभयो । उकालो र साघुरो सडक भएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

मृत्यु हुनेमा माझफाँटका जिपका चालक ३० वर्षीय डम्बरबहादुर नेपाली रहेको बेनी अस्पतालले प्रकाशित गरेको विज्ञप्तीमा जनाएको छ । अस्पतालले दिएको जानकारी अनुसार चालक नेपालीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका ५ जनाको बेनी अस्पतालमा उपचार पश्चात थप उपचारका लागि पोखरा पठाइएको छ । ६ जना सामान्य घाइतेलाई उपचार पश्चात डिसचार्ज गरिएको अस्पतालले जनाएको छ ।

दुर्घटनाको खबर पाउनसाथ स्थानीयवासी र प्रहरीको टोलीले घाइतेहरुलाई उपचारका लागि बेनी अस्पतालमा ल्याइएको थियो । घाइते हुनेहरुमा जलजला २ का १५ वर्षीय आशिष नेपाली, वर्ष १४ को सज्जन परियार, ३० को सुमन नेपाली,वर्ष १२ को सजना परियार वर्ष ४० की माया दमाईलाई थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ । जलजला २ कै वर्ष १३ को सपना परियार,वर्ष १६ को विनिता परियार,वर्ष १३ को यशोदा परियारको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी दुर्घटनामा सामान्य घाइतेभएकाहरु वर्ष २३ का रोशन सिंह रत्न,वर्ष १८ का रोचन सिंह रत्न,बागलुङ ठेगाना भएका वर्ष १६ का नबिन वर्देबा,जलजला २ का वर्ष १२ का सन्देश रत्न,वर्ष १४ का अजित परियार,वर्ष २० की प्रियंका बोहोरा उपचार पछि घर फर्किएका छन् ।