ठाकुरप्रसाद आचार्य/म्याग्दी
कात्तिक २६ गते ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि म्याग्दीमा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक अधिकृतलाई शनिबार देखि तालिम दिन थालिएको छ । निर्वाचनमा खटिएका कर्मचारीहरुलाई दुई चरणमा गरेर शनिबार र आइतबार निर्वाचन सम्बन्धि अभिमूखीकरण दिन थालिएको हो ।
बेनी बजार स्थित बेनी सामुदायिक विद्यालयको मतदान स्थलमा मतदान अधिकृतहरुलाई तालिमको व्यवस्था गरिएको छ । तालिममा सहभागि भएका अधिकृतहरुलाई नमूना मतदान केन्द्र निर्माण गरी नमूना मतदान समेत गराइएको छ । मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद नेपाल,प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना र जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले निर्वाचन सम्बन्धि विषयमा अभिमुखीकरण गर्नुहुनेछ ।
मतदान अधिकृतहरुलाई व्यवहारिक र सैद्धान्तिक विषयमा जानकारी गराइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन सम्बन्धि ऐनकानून,निर्वाचन पूर्वको अवस्था,मतदान केन्द्रमा आइपर्ने समस्याहरु, निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्थापन र मतपेटिका ढुवानी, निर्वाचन कार्यक्रम, जनशक्ति, आर्थिक व्यवस्थापन, मतदान अधिकृत र सहायक मतदान अधिकृतको जिम्मेवारी र भूमिका, मतदानको सामग्री बुझेपश्चात् मतपेटिका बुझाउनेसम्मको प्रक्रियालगायत विषयमा अभिमुखीकरण दिइने जिल्ला निर्वाचन अधिकारी घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार एकसय २० जना आइतबार एकसय २० जना गरी दुई सय ४० जनालाई अभिमुखीकरण गरिने छ ।
जिल्लामा ८२ मतदान स्थल,एकसय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एकवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन गराउन ९ सय ८६ जना कर्मचारी परिचालन गरिएको छ । प्रतिनिधिसभा तर्फ एक र प्रदेशसभा तर्फ दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तिनपदका लागि १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।