गठबन्धनको भ्रममा नपरी मतदान गर्न एमाले उम्मेदवारको आग्रह

विकल्प न्यूज\बेनी
कात्तिक २२ गते ।

मंसिर ४ गते हुने निर्वाचन नजिकिँदै जाँदा म्याग्दीमा पनि राजनीतिक दलहरुको चुनाव प्रचार अभियानले तीव्रता पाएको छ । यसैक्रममा मङ्गलवार नेकपा एमालेले बेनी नगरपालिका–९ घतान र १० नम्बर वडा पात्लेखेत चुनावी सभा आयोजना गरेको छ ।

सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार एमाले नेता हरिकृष्ण श्रेष्ठले जिल्लावासीको समस्या समाधान गर्न र जिल्लाको विकासमा आवश्यक भूमिका खेल्न आफू उम्मेदवारको रुपमा चुनावी मैदानमा आएको बताउनुभयो ।

उहाँले शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार, खेलकुद, कृषि, पर्यटनलगायत विविध क्षेत्रको विकास गर्ने उद्देश्यसहित निर्वाचनमा उठेको बताउँदै आफूले म्याग्दीवासी आम जनतालाई आफ्नो अमूल्य मत दिएर विजयी बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा उम्मेदवार श्रेष्ठले गठबन्धनको भ्रममा नपरी मंसिर ४ गते सूर्य चिन्ह्मा मतदान गर्न अनुरोध गर्नुभयो ।

उहाँले गठबन्धनले जिल्लाको विकासमा एमालेले केही नगरेको भन्दै भ्रमको खेती गरेको बताउनुभयो । उनीहरुसँग विकासका एजेण्डा छैनन् भ्रमको खेती गरेर निर्वाचन जित्ने कोशिस गरेका छन् उहाँले भन्नुभयो ।

सोही कार्यक्रममा प्रदेशसभा (१)का उम्मेदवार एमाले जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले राष्ट्रियताको सवालमा र देशको समग्र क्षेत्रको विकासमा एमालेको स्पष्ट भिजन रहेको बताउँदै आउँदो निर्वाचनमा एमालेको पक्षमा मतदान गर्न मतदाताहरुलाई आह्वान गर्नुभयो ।

उहाँले यसअघि आफू जनप्रतिनिधिको हिसाबले जिल्लालाई नजिकबाट बुझ्नुका साथै जिल्लाको विकास निर्माणमा आवश्यक पहल गरेको बताउँदै थप विकासमा जनतासँग हातेमालो र विकास गर्नेगरी पुनः चुनावी मैदानमा आएको बताउनुभएको छ ।

एमालेका जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदीले म्याग्दीमा एमालेको जित सुनिश्चित रहेको बताउँदै सुखी नेपाली र समृद्ध नेपालको सङ्कल्प पुरा गर्न एमालेले जित्नुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्यद्वय डिपी शर्मा, पशुपति शाही, बेनी नगर कमिटी अध्यक्ष एवं युवा नेता नारायण जिसी, जिल्ला सदस्य बेलबहादुर चोखाल, अनेरास्ववियुका नेता मिलन खत्री लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । नगर कमिटी सचिव सुवास विश्वकर्माको सञ्चालनमा सम्पन्न कार्यक्रम एमालेका स्थानीय नेताहरु बुद्धिबहादुर चोखाल, कृष्ण मल्ल र बाबुराम सुवेदीले अध्यक्षता गर्नुभएको थियो ।