पर्यटकलाई आकर्षित गर्न घोडेपानीमा घोडादौड प्रतियोगिता

ठाकुरप्रसाद आचार्य/म्याग्दी
कात्तिक १६ गते ।

म्याग्दीको प्रशिद्ध पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका ६ स्थित घोडेपानीमा पर्यटकलाई आकर्षित गर्न घोडा दौड प्रतियोगिताको आयोजना गरिने भएको छ ।

कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई उकास्न यहाँका घोडा व्यवसायी,टोल सुधार समिति,आमा समुह र पर्यटन व्यवस्थापन समितिको संयुक्त पहलमा यहि कात्तिक १७ गते विहिवार घोडा दौड प्रतियोगिताको आयोजना गरिने भएको हो ।

घोडेपानीको भ्रमणमा आउने पर्यटकलाई मनोरञ्जन दिन र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले घोडा दौड प्रतियोगिता आयोजना गरिएको घोडेपानी टोलसुधार समितिका संयोजक विरेन पुनले बताउनुभयो ।

यतिखेर मौसम खुलेसँगै घोडेपानी र पुनहिल भ्रमण गर्न आउने पर्यटकको संख्या वृद्धि भएकाले घोडा दौड प्रतियोगिता गरेर पर्यटकलाई थप आकर्षित गर्न प्रतियोगिता आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
पुनहिल र घोडेपानीबाट सूर्योदय, हिमाल, पहाडी भूगोल र जंगल मनमोहक दृष्यावलोकन गर्न आउने पर्यटकका लागि घोडा दौड प्रतियोगिता पनि अर्को आकर्षण बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

सामान ढुवानी, आवतजावत र पर्यटक बोक्नका लागि घोडेपानीमा घोडा पाल्ने गरिएको छ । परापूर्वकालमा घोडेपानी भोटमा नुन लिन जाने, दामोदरकुण्डको तीर्थयात्रा गर्ने र चिनियाँ तथा भारतीय बजार आवतजावत गर्ने बाटोमा थियो ।

समुद्री सतहदेखि करिब दुई हजार आठ सय मिटरको उचाइमा रहेको घोडेपानीमा बटुवाले घोडालाई पानी खुवाउने गरेकाले घोडेपानी नाम रहन गएको स्थानीयको भनाई छ ।

घोडालाई पानी खुवाउने स्थान भएकाले यसको नाम घोडेपानी राखिएको स्थानीयहरुले बताउँछन् ।
घोडेपानीको छिमेकी कास्कीको घान्द्रुकमा घोडेजात्रा पर्वका अवसरमा घोडा दौड प्रतियोगिता आयोजना हुँदै आएको छ ।

दुई ठाउँमा सँगसँगै पर्ने भएकाले घोडेपानीमा यसपालिदेखि शरद याममा प्रतियोगिता गर्न लागिएको घोडेपानी पर्यटन व्यवस्थापन समितिको अध्यक्ष मिना पुनले बताउनुभयो ।
घोडेपानीदेखि अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने घोप्टेखर्कसम्म सात किलोमिटर पाँच सय मिटरको दूरीमा घोडा दौडाउने तय भएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तितृय हुनेलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित क्रमशः ५१ हजार, ३१ हजार र २१ हजार रुपियाँ नगद प्रदान गरिनेछ । सहभागीका लागि दर्ता शुल्क प्रतिव्यक्ति तीन हजार रुपियाँ तोकिएको आयोजकले जनाएका छन् ।