मालिकाको रुममा अनेमसंघले माग्यो एमालेको पक्षमा मत

विकल्प न्यूज\बेनी
कात्तिक १४ गते ।


अखिल नेपाल महिला संघ जिल्ला समिति म्याग्दीको आयोजनामा सोमबार चुनावलक्षित कार्यक्रम सम्पन्न भएको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२, रुममा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी चुनावी कार्यक्रम गरिएको अनेमसंघले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका उपसचिव थमसरा पुनले आसन्न निर्वाचनबाट नेकपा एमालेको नेतृत्वमा सरकार गठन हुने र देश विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यसअघि एमाले नेतृत्वमा बनेका सरकारले जनमुखी कार्यक्रम र बजेट ल्याएर देशको विकास, निर्माणलाई गति दिएको बताउँदै आउँदो निर्वाचनबाट पनि देशको विकास गर्नका लागि एमालेका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा एमाले म्याग्दीका सचिवालय सदस्य एवं प्रदेश सभा (ख) निर्वाचन परिचालन कमिटीका संयोजक खरमाया बिटालुले देशको विकास गर्ने एक मात्र पार्टी नेकपा एमाले भएकाले एमालेले जित्नुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा एमाले वडा कमिटी अध्यक्ष उदय बुढाथोकी तथा स्थानीय नेता कार्यकर्तासहित रुमको विभिन्न टोल र वस्तीमा पुगेर घरदैलो गर्नुका साथै मतदातालाई भेटघाट गरी एमालेको पक्षमा भोट मागिएको छ । निर्वाचन नजिकिँदै जाँदा अनेमसंघले विभिन्न कार्यक्रमहरु गरेको जानकारी दिएको छ ।