एमालेका उम्मेदवार मतदाताको घरघरमा

विकल्प न्यूज\बेनी
कात्तिक ९ गते ।

आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका नेकपा एमालेका उम्मेदवारहरु मत माग्न घरघरमा पुगेका छन् ।

बेनी नगरपालिका–६, अर्थुङ्गेमा नेकपा एमालेको चुनावलक्षित घरदैलो कार्यक्रम तथा मतदाता भेटघाट गरेको छ । आसन्न निर्वाचनलाई लक्षित गरेर प्रतिनिधिसभा र प्रदेशसभा (क)का उम्मेदवारसहित एमालेको एक टोलीले अर्थुङ्गेको विभिन्न टोल र वस्तीमा पुगेर मतदाता भेटघाट गरेको हो ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेशसभाका उम्मेदवार देवेन्द्रबहादुर कटुवाल क्षत्रीसहित एमालेका नेता, कार्यकर्ताको टोलीले घरदैलो कार्यक्रम गरेर मतदाता भेटघाट गरेको एमाले म्याग्दीले जनाएको छ । अर्थुङ्गेको राहुवडा, जामुनाखर्क र रिठाबोटलगायत टोल, वस्तीमा पुगेर चुनावलक्षित कार्यक्रमअन्तर्गत मतदातालाई घरघरमा पुगेर भेटघाट गर्नुका साथै घरदैलो गरिएको थियो ।

घरदैलो कार्यक्रम तथा मतदाता भेटघाटको क्रममा एमालेका प्रतिनिधिसभा उम्मेदवार श्रेष्ठले संविधानमा भएका व्यवस्थाको कार्यान्वयन तथा जिल्लामा शिक्षा, स्वास्थ्य, सडक, खेलकुद र जनताको आधारभूत आवश्यकता पुरा गर्न आफू उम्मेदवार बनेको बताउँदै मत माग्नुभएको छ । उहाँले यसअघि एमाले नेतृत्वको सरकारले चीनसँग पारवहन सन्धी सम्झौता गरी नेपाललाई समुन्द्रसँग जोडेको, नेपालको गुमेको भू–भाग नक्सामा समावेश गरी नयाँ चुच्चे नक्सा जारी गरेको सडक, विद्युत, अस्पताल, विद्यालयलगायत थुप्रै काम गरेको बताउँदै थप काम गर्ने अवसर दिनुपर्ने बताउनुभयो ।

प्रदेशसभा ९क०का उम्मेदवार क्षत्रीले आफू यसअघि २०५४ साल र ०७४ सालमा जनप्रतिनिधि बनेर जनताको समस्यालाई नजिकबाट बुझेर काम गरेको हुँदा यसअघि बाँकी रहेका कामहरु पुरा गर्ने वातावरण निर्माण गरिदिन मतदाताहरुलाई अनुुरोध गर्नुभयो । उहाँले नेकपा एमाले गफ गर्ने मात्र नभई काम गर्ने पार्टी भएको बताउँदै देशको विकास निर्माणको नेतृत्व गर्ने अवसर प्रदान गर्न र समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई पुरा गर्नका लागि पनि आउँदो निर्वाचनमा एमाले र एमालेका उम्मेदवारको पक्षमा मतदान गर्नुपर्नेमा जोड दिनुभयो ।

मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा एमाले म्याग्दीका सचिवालय सदस्य पशुपति शाही, जिल्ला कमिटी सदस्य नारायण शर्मा, एमाले अर्थुङ्गे वडा कमिटी अध्यक्ष गणेशबहादुर बानियाँ, युवा संघका जिल्ला संयोजक शिशिर शाहीलगायत स्थानीय नेता एवं कार्यकताहरुको सहभागिता रहेको थियो ।

यसैगरी नेकपा एमाले निर्वाचन परिचालन कमिटीको आयोजना प्रदेश सभा ९ख०अन्तर्गत धवलागिरि गाउँपालिका–३, मुना र ७ नम्बर वडा ताकममा पनि घरदैलो र मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । मतदातालाई भेटघाटको क्रममा प्रदेशसभा ९ख०का उम्मेदवार यामबहादुर गर्बुजाले जिल्लाको स्रोतसाधन परिचालन गरी स्वदेशमै युवा स्वरोजगार सिर्जना गर्न तथा मानव पुँजीको विकासका लागि नेकपा एमालेको पक्षमा मतदान गर्न अपिल गर्नुभयो । उहाँले बढ्दो महङ्गी नियन्त्रण, विकास निर्माणको तीव्रता र जनताको आधारभूत आवश्यकताहरुको पहिचान गरी समाधान गर्न एमाले पार्टी र आफूलाई भोट दिएर जिताउनुपर्ने बताउनुभयो ।

चुनावी अभियानमा उम्मेदवार गर्बुजासहित एमाले म्याग्दीका जिल्ला उपसचिव तथा जनवर्गीय सङ्गठन संयोजक थमसरा पुन, जिल्ला कमिटी सदस्य प्रगति कार्की तथा स्थानीय नेता एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।