ताजा समाचार:
Search

नवौं राष्ट्रिय खेलकुद ः बेनीमा तेक्वान्दो प्रतियोगिता सुरु

ठाकुरप्रसाद आचार्य/म्याग्दी

असोज २९ गते ।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको बेनीमा तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । बेनी स्थित कभर्ड हलमा शुक्रबार साँझ देखि प्रतियोगिता सुरु गरिएको हो ।  उद्घाटन खेलमा पुम्से एकलको महिला र पुरुषको खेल खेलाइएको थियो । प्रतियोगितामा महिला, पुरुष सिंगल पुम्सेतर्फ नेपाल पुलिस क्लबले जित हात पारेको म्याग्दी तेक्वान्दो संघका प्रशिक्षक कर्ण प्रधानले बताउनुभयो ।

महिलातर्फ ७.१९९ अंकसहित नेपाल प्रहरीकी निशा दर्नाल विजयी हुँदा उपविजेता भएकी नेपाली सेनाकी स्वस्तिका तामाङले ७.१४९ अंक प्राप्त गर्नुभयो । तेस्रो स्थानमा प्रदेश १ की सुशीला राईले ६.८६६ र गण्डकीकी अर्पणा अधिकारीले ६.४६६ अंक पाउनुभयो । पुरुषतर्फ प्रहरीका कमल श्रेष्ठ ७.५३३ अंकसहित विजयी हुँदा लुम्बिनीका युवराज राना ७.१४९ अंकसहित उपविजेता बन्नुभयो । ६.८६६ अंकसहित गण्डकीका आयुष गुरुङ र ६.६९९ अंकसहित प्रदेश १ का विवेक राई तेस्रो हुनुभयो ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दो खेल्न देशका सात प्रदेश, आर्मी, सशस्त्र र प्रहरी समेत गरी तीन वटा विभागीय टिमका ३ सय ३० जना खेलाडी बेनी आइपुगेका छन् । तेक्वान्दो खेलमा गेरोगीतर्फ महिला–पुरुष ८/८ गरी १६ वटा र पुम्से विधाका ३/३ गरी ६ विधामा २२ खेलका २२ स्वर्ण, २२ कास्य र ४४ रजत पदकका लागि प्रतिस्पर्धा हुने म्याग्दी तेक्वान्दो संघका प्रशिक्षक प्रधानले जानकारी दिनुभयो   ।