काँग्रेस नेता महतले दिए गठबन्धन विरुद्ध प्रदेश निर्वाचन क्षेत्र क मा स्वतन्त्र उम्मेदवारी

विकल्प न्यूज/बेनी
असोज २३ गते ।

सत्ता गठबन्धनका विरुद्ध नेपाली काँग्रेसका नेता नेत्रबहादुर महतले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । सिट बाडफाँटमा प्रदेश निर्वाचन क्षेत्र क माओवादीका भागमा परेपछि असन्तुष्ट हुँदै महतले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको हो ।

सत्ता गठबन्धनका तर्फबाट माओवादीका हरिबहादुर भण्डारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाली काँग्रेसमा रहेर लामो समय सम्म राजनीतिक गर्नुभएका महत पार्टीमा अवसर नपाउने नेताहरु मध्यमा पर्नुहुन्छ ।

अघिल्लो पटक २०७४ को निर्वाचनमा पनि महतले दावी गर्नुभएको थियो । तर राप्रपासँग भएको चुनावी तालमेलमा भिमप्रसाद गौचनलाई काँग्रेसले छाडेको थियो । यसपाली पनि महतको दावी शसक्त थियो तर अन्तिम समयमा आएर सिट साटफेर गर्दा माओवादीका भागमा परेपछि महत असन्तुष्ट बन्नुभएको हो ।  काँग्रेस भित्र इमान्दार नेताको पहिचान महतको छ । तर उहाँले काँग्रेस भित्र अवसर पाउन सक्नुभएको छैन ।

महतको उम्मेदवारीले गठबन्धनलाई हानी पुग्ने देखिएको छ । पार्टीले महतका वारेमा उचित सम्बोधन नगरे निर्वाचनमा समस्या पैदा हुने काँग्रेसका एक नेताले बताउनुभयो । अघिल्लो पटक पनि महतले उम्मेदवारी दिएपनि दबाव परेपछि फिर्ता गर्नुभएको थियो । यसपाली भने अलि कडा रुपमा महत प्रस्तुत हुनुभएको र पार्टीले सम्मानजनक रुपमा सम्बोधन नगरे उहाँको उम्मेदवारी कायमै रहेन ति नेताले बताउनुभयो ।