बेनी अस्पताल गण्डकी प्रदेशमा उत्कृष्ट घोषित

विकल्प न्यूज/बेनी
भदौं २२ गते ।


म्याग्दी सदरमुकाम बेनीमा सञ्चालित बेनी अस्पताल गण्डकी प्रदेशमा उत्कृष्ट घोषित भएको छ । आर्थिक बर्ष २०७८/०७९ को प्रदेश स्तरीय बार्षिक समिक्षामा तय गरेका विभिन्न स्वास्थ्य सेवाका सुचकहरुको आधारमा गण्डकी प्रदेश अन्तरगतका ११ वटा जिल्ला अस्पतालहरु मध्ये बेनी अस्पताल म्याग्दीले ७८५ सहित प्रथम स्थान हासिल गर्न सफल भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

नतिजा संगै अस्पतालबाट आगामी दिनहरुमा दिईने सेवा प्रवाहमा थप उत्पेरणा, हौसला प्राप्त हुनुका साथै थप जिम्मेवार र उत्तरदायित्व बोध भएको अस्पतालले जनाएको छ । १५ बेडबाट ५० बेड क्षमतामा स्तरोन्नती भैरहेको बेनी अस्पतालले भौतिक पूर्वाधारको अभाब र सिमित जनशक्तिका बिच पनि जिल्लामा अप्रेशन सहितको स्वास्थ्य उपचार सेवा दिँदै आएको छ ।

बेनी अस्पतालमा म्याग्दीका साथै संगै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिका र पश्चिम बागलुङका नागरिकहरुले समेत स्वास्थ्य उपचार सेवा लिँदै आएका छन् ।

५० बेड क्षमतामा निर्माणधिन अस्पताल भवन भने ठेकेदारको लापरबाहीले ढिलासुस्तीको नमुना भएको छ भने अस्पतालले अस्थायी भवन निर्माण गरेर उपचार सेवा दिँदै आएको छ ।