म्याग्दीमा काँग्रेसबाट कसले पाउला संघको टिकट ?

विकल्प न्यूज/बेनी
भदौं १६ गते ।


आगमी मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीमा उम्मेदवारको चर्चा हुनथालेको छ । केन्द्रमा सत्ता गठबन्धनमा आवद्ध दलहरुकाबीच सिट बाँडफाँडको छलफल चलिरहँदा म्याग्दीमा काँग्रेस भित्र पनि आगमी निर्वाचनका लागि उम्मेदवारका वारेमा छलफल सुरु भएको हो । प्रतिनिधिसभा तर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दी गठबन्धनबीच सिट बाँडफाँड गर्दा काँग्रेसले पाउने संभावना रहेको छ ।

गठबन्धन हुँदा म्याग्दीमा जित हासिल गर्न सकिने भएकाले यसपाली नेपाली काँग्रेस भित्र उम्मेदवार बन्न ठूलै कसरत देखिन्छ । बुधवार जिल्ला कार्यसमितिको वैठकमा ४ जना नेता प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बन्न आकांक्षी देखिनुभएको छ । २०७० र २०७४ को निर्वाचनमा उम्मेदवार बनेर पराजित हुनुभएका पार्टी सभापति खम्बीर गर्बुजा फेरी यसपाली पनि उम्मेदवार बन्ने बलियो संभावना रहेको काँग्रेसका कार्यकर्ताहरु बताउँछन् । बुधवारको वैठकमा उहाँले पनि आफ्नो दावी प्रस्तुत गर्नुभएको छ । यस्तै संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका म्याग्दीका राजनीतिक तथा वैचारिक नेतृत्व रेशम बहादुर बानियाँको दावी पनि यसपाली बलियो छ ।

यस्तै गत मंसिरमा सम्पन्न भएको सातौं जिल्ला अधिवेशनमा लोकप्रिय मत सहित उपसभापतिमा निर्वाचित हुनुभएका केवि भण्डारीको दावी पनि यसपाली शसक्त छ । अन्य नेताहरु अवसर पाएर परिक्षण भइसकेकाले कार्यकर्ताहरुको चाहना आफूप्रति भएको मत सहित उम्मेदवारका लागि दावी प्रस्तुत गर्नुभएको काँग्रेसका एकजना जिल्ला कार्यसमितिका सदस्यले बताउनुभयो । नेपाली काँग्रेस भित्र अवसर नपाउने नेताको रुपमा पहिचान बनाउनुभएका पूर्व सहसभापति नेत्रबहादुर महतको पनि दावी संघको उम्मेदवारमै छ ।

बुधवारको वैठकमा नेताहरुले आ–आफ्नो दावी प्रस्तुत गर्नुभएको र थप छलफल विहिवार वस्ने वैठकमा हुने जिल्ला सचिव हिरा पुनले बताउनुभयो । पार्टी केन्द्रमा देखिएको गुटबन्दी जिल्ला तहमा पनि देखिएको छ । जिल्लाबाट आकांक्षीहरुको नाम प्रदेश कार्यसमिति हुँदै पार्टी केन्द्रमा पुग्ने र सस्थापन र शेखर कोइराला पक्षकाबीच आपसी बाँडफाँट हुने काँग्रेसजनहरु बताउँछन् । अन्तिम अवस्थामा पार्टी सभापति गर्बुजा र नेता बानियाँकाबीच नै टिकटका ठूलै कसरत हुने बुझिएको छ ।

यस्तै अनुसार समानुपातिक तर्फ १४ जना नेताहरु आकांक्षी देखिएका छन् । समानुपातिकतर्फ निवर्तमान उपसभापति माधवप्रसाद रेग्मी,सचिव हिराबहादुर पुन,मनकुमारी विश्वकर्मा,विनाकुमारी खड्का,श्रीप्रसाद रोका,भिमबहादुर रोका ,दिलबहादुर बरुवाल,गोपाल बानियाँ,प्रताप पुर्जा र त्रिलोकचन्द विश्कर्माले नाम टिपाउनुभएको सचिव पुनले बताउनुभयो । यसैगरी प्रदेश निर्वाचन क्षेत्र क का लागि प्रत्यक्षतर्फ हरिकुमार श्रेष्ठ,ओम छन्त्याल, क्या.मिनबहादुर कार्की, क्या. डमबहादुर गर्बुजा र समानुपातिक तर्फ विमला गौचन, अनोद श्रेष्ठ, मुकुन्द छन्त्याल र कमल विश्वकर्माको नाम जिल्लामा सिफारिस गरिएको छ ।

निर्वाचन क्षेत्र ख बाट प्रत्यक्षतर्फ मनमोहन बुढाथोकी छन्त्याललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । प्रदेश समानुपातिक तर्फ खिमबहादुर पुर्जा, देवीकुमारी बुढा, यामबहादुर हर्मेल, तमबहादुर थापा, तेजिन्द्र थापा, कमरा पेटल र अपाङगताबाट सुरेन्द्र खत्रीलाई सिफारिस गरिएको छ । आकांक्षी उम्मेदवारको जिल्ला हुदै प्रदेश समितिमा पठाईने काँग्रेसले जनाएको छ ।