विकल्प न्यूज/बेनी
भदौं ९ गते ।
पर्वतको जलजला गाउँपालिका ७ मा महिनौ देखि अवरुद्ध भएको सडक खुलेको छ । मिलनचोक – सल्यान– गुन्टेखेत– घायखेत –धारापानी सडक अन्तर्गत विभिन्न स्थानहरुमा बाढीपहिरोका कारण दुईमहिना देखि अवरुद्ध थियो । सडक खुलाउन स्थानीयहरुले गरेको माग सुनुवाई भएको थिएन ।
महिलाहरुको पर्व हरितालिका तीजमा आवतजावत गर्ने दिदिबहिनीहरुलाई सहज बनाउन गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट पालिका उपाध्यक्षको उम्मेदवार बन्नुभएकी सुनिता वरुवालको पहलमा सडकखुलाउने काम भएको हो । बरुवाल सहित वडाध्यक्षका उम्मेदवार भीमप्रसाद आचार्य सडक खुलाउन डोजर लगेर सल्यान स्थित ठूलो पहिरोमा पुग्नुभएको थियो ।
महिनौं सम्म पनि सडक खुलाउन स्थानीय तहका जनप्रतिनिधिहरुले चासो नदेखाएपछि आफूहरुले डोजर लगेर सडक खुलाउने काम गरेको आचार्यले बताउनुभयो । मिलनचोक देखि धारापानी सम्म बाढीपहिरोले भत्काएको स्थानमा डोजरले सडक मर्मत सम्भार गरेर सवारीसाधन आवतजावत गर्न मिल्ने बनाइएको आचार्यले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा माथिल्लो धाइरिङवासीहरुलाई आवतजावत गर्न निकै कठिनाई भएको थियो ।