विकल्प न्यूज/जलजला
भदौं ९ गते ।
पर्वतको जलजलामा सहकारीका पदाधिकारीहरुलाई दुईदिने क्षमता अभिवृद्धिको तालिम दिइएको छ । जलजजला गाउँपालिका कृषि तथा सहकारी विकास शाखाको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा सहकारीका पदाधिकारी तथा व्यवस्थापकहरुलाई सहकारी व्यवस्थापन तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली सञ्चालन सम्बन्धि क्षमता अभिवृद्धि तालिम दिइएको हो ।
बुधवार र विहिवार सञ्चालन भएको तालिममा पालिका भित्रका २२ वटा सहकारी संस्थाका ४६ जना पदाधिकारी तथा व्यवस्थापकहरुको सहभागिता रहेको पालिकाका कृषि तथा सहकारी विकास शाखाका प्राविधिक सहायक राजु गौतमले जानकारी दिनुभयो ।
उक्त तालिमको राष्ट्रिय सहकारी बैंकका तालिम महाशाखाका अधिकृत राजकुमार बराल र सहकारी बैंक बागलुङका शाखा प्रबन्धक युवराज त्रिपाठीले सहजीकरण गर्नुभएको थियो । तालिममा सहकारी संस्थाहरुको वित्तिय क्षेत्रको नियमन, सूचना तथा तथ्याङहरुको अध्यावधिक,नियमक निकायहरुको सूचनाहरुको प्राप्ती र संकलन तथा सम्प्रेषण गर्ने उद्देश्यका वारेमा सहभागिहरुलाई प्रशिक्षण दिइएको थियो ।
गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले तालिमको उद्घाटन गर्नुहुँदै सहकारी संस्थाहरुले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्ने जोड दिनुभयो । उत्पादनमुलक क्षेत्रमा लगानी गरेर ग्रामिण क्षेत्रमा रोजगारी सिर्जना गर्नुपर्ने उहाँको भनाई थियो । सहकारीहरु नाफामुलक भन्दा पनि सेवामुलक हुनुपर्र्ने उहाँले बताउनुभयो ।
पालिका अध्यक्ष कुशल सुवेदीको अध्यक्षतामा सम्पन्न भएको तालिमको कृषि तथा सहकारी विकास शाखाका प्राविधिक सहायक गौतमले संचालन गर्नुभएको थियो । तालिमको समापनका अवसरमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।