नवौं राष्ट्रिय खेलकुद ः बेनीमा महिला भलिबल प्रतियोगिताको प्रस्ताव

विकल्प न्यूज/बेनी
भदौं ९ गते ।

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा महिला भलबल प्रतियोगिताको आयोजन ागर्न प्रस्ताव गरिएको छ । म्याग्दी जिल्ला भलिबल संघ र जिल्ला खेलकुद समिति म्याग्दीले संयुक्त रुपमा उक्त प्रस्ताव गरेका हुन ।

म्याग्दीबाट खेलकुद प्रतियोगिताको प्रस्ताव गरिएपछि नवौं राष्ट्रिय खेलकुद परिषदको प्राविधिक टोलीले विहिवार प्रतियोगिताको संभावनाका वारेमा स्थलगत अनुगमन गरेको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्राविधिक टोलीले यहाँको भौतिक पूर्वाधार र खेलकुद प्रतियोगिताको संभावनाका वारेमा स्थलगत अनुगमन गरेको छ बानियाँले भन्नुभयो ‘म्याग्दीमा महिला भलिबल प्रतियोगिता आयोजना गर्न सकिने आधारहरु हामीले प्रस्तुत गरेका छौं । प्राविधिक टोलीले आज अनुगमन पनि गरेको छ ।’

महिला भलिबलका क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पहिचान बनाउन सफल भएको,महिला भलिबलको कप्तान जन्माउन सफल भएको र म्याग्दी महिला भलिबलको उर्भर भूमि भएको आधार पेश गर्दैै हामीले महिला भलिबल प्रतियोगिता आयोजना हुनुपर्ने माग राखिएको जिल्ला भलिबल संघका अध्यक्ष बानियाँले बताउनुभयो ।

यसैगरी राष्ट्रिय खेलकुद परिषद (राखेप) र गण्डकी खेलकुद परिषदले आसन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत हुने प्रतिस्पर्धा प्रदेशका अधिकांश जिल्लामा विस्तार गर्ने तयारी गरेको छ । खेल पूर्वाधार भएका र खेलाडी तथा अफिसियल व्यवस्थापनको सुविधा पर्याप्त भएका स्थानमा खेलस्थल विस्तार गर्ने रणनीति राखेपले पहिलेदेखि नै लिएको हो ।नवौं खेलकुदको खेलस्थल व्यवस्थापन उपसमितिले गण्डकीका ८ जिल्लामा खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने प्रारम्भिक निष्कर्ष निकालेको छ ।

सम्बन्धित खेल संघका प्रतिनिधिले निरीक्षण र अनुमोदन गरेपछि भदौ १५ गतेसम्म अन्तिम निर्णय गर्ने गरिने राखेपले जनाएको छ । गण्डकी प्रदेशको केन्द्र कास्कीमा एथलेटिक्स, फुटबल, क्रिकेट, पुरुष भलिबललगायत अघिकांश खेलका प्रतियोगिता आयोजना हुनेछन् । त्यसबाहेक म्याग्दी, गोरखा, स्याङ्जा, नवलपुर, गोरखा, तनहुँ र लमजुङलगायतका जिल्लामा प्रतिस्पर्धा सन्चालन गर्ने प्रस्ताव आएको छ ।

म्याग्दीमा महिला भलिबल, नवलपुरमा सेपाकताक्रो र कुस्ती, गोरखामा कवड्डी र खोखो खेल सञ्चालन गर्न प्रस्ताव गरिएको छ । तर, सम्बन्धित खेल संघले स्थलगत निरीक्षण गरेपछि मात्रै अन्तिम टुंगो लाग्नेछ । असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ नियमित र २ प्रदर्शनी खेल समावेश गरिएको छ ।