साउन महिनामा गलेश्वरधाममा १८ लाख भेटी संकलन

ठाकुरप्रसाद आचार्य/म्याग्दी
साउन ३१ गते ।

म्याग्दीको प्रशिद्ध धार्मिक स्थल गलेश्वरधाममा साउन महिनामा एकलाख भन्दा वढी भक्तजनले दर्शन गरेका छन् । बेनी नगरपालिका ९ गलेश्वरधाममा साउन महिनाको सोमबार विभिन्न जिल्लाहरुबाट दर्शन गर्न आउने भक्तजनहरुको संख्या एकलाख १५ हजार अनुमान गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । मंगलवार कोषले साउन महिनामा भक्तजनहरुबाट दान तथा भेटीबाट १८ लाख ७० हजार दुईसय ५३ रुपियाँ संकलन भएको सार्वजनिक गरेको छ । मन्दिरको आम्दानीलाई पारदर्शी बनाउन हरेक सोमबार संकलन भएको रकम भोलीपल्टै सार्वजनिक गर्ने गरिएको छ ।

पहिलो सोमबार ३ लाख ३९ हजार ५ सय ५६,दोस्रो सोमबार ३ लाख १८ हजार तिनसय ३२,तेस्रो सोमबार ३ लाख ७ हजार १३,चौथो सोमबार ४ लाख ६१ हजार ४ सय २३ र पाँचौं तथा अन्तिम सोमबार ४ लाख ६८ हजार ९ सय २९ रुपियाँ संकलन भएको गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबारका दिन भक्तजनहरुले मन्दिरमा चढाएको रकम कोषका पदाधिकारी,आमासमुह,प्रहरी तथा स्थानीय व्यक्तिहरुको रोहवरमा गणना गरी सार्वजनिक गर्ने गरिएको छ । मन्दिरको आर्थिक पक्षलाई पारदर्शी बनाउन सवै पक्षको सहभागितामा सोमबार भेटी संकलन भएका बाकसलाई सिलबन्दी गर्ने र भोलीपल्ट खोलेर रकम गणना गर्ने गरिएको उहाँले बताउनुभयो । कोषको अहिले सम्म विभिन्न वैंक तथा वित्तिय संस्थामा तिन करोड ९ लाख ४९ हजार पाँचसय ८८ रुपियाँ रहेको जानकारी दिनुभयो ।

यसपालीको साउन महिनामा ५ वटा सोमबार परेकाले भक्तजनहरुको संख्यामा वृद्धि भएको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो । साउन ३० गतेको अन्तिम सोमबार विभिन्न जिल्लाहरुबाट ठूलो संख्यामा गलेश्वरको दर्शन गर्न आएको कोषका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । दर्शनका लागि आएका श्रद्धालु, भक्तजनहरुको विहानै देखि लामो लाइन लागेको थियो । भक्तजनहरुलाई सहज रुपमा दर्शनको व्यवस्था मिलाइएको कोषका अध्यक्ष रेग्मीले बताउनुभयो ।

पुजाअर्चना र दर्शनका लागि आएका भक्तजनहरुको सहजताका लागि कोषले स्वयमसेवकहरु पनि परिचालन गरेको थियो । म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवनलगायत जिल्लाहरु र भारतबाट समेत गलेश्वर शिवालयको दर्शन तथा पूजाआजा गर्न भक्तजनहरु आएको कोषले जनाएको छ ।
गएको दुईवर्ष कोरोनाको कारणले गर्दा पूजाअर्चना गर्न नपाएका भक्तजनहरु यस वर्षको साउन पाँचवटै सोमबार भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो । साउन महिनामा शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

गलेश्वर मुक्तिनाथको प्रवेशद्वारको रुपमा मानिन्छ । अन्य महिनाहरुमा पनि गलेश्वर दर्शनका लागि नेपाल लगायत भारतीय हिन्दु धर्मालम्बीहरु दर्शनका लागि आउने गर्दछन् । मन्दिरमा संकलन भएको भेटीलाई गलेश्वर क्षेत्र विकास कोषले यहाँको भौतिक पूर्वाधार निर्माणमा खर्चिने गरेको छ । पछिल्ला १० वर्षमा गलेश्वरधाममा संकलन भएको चन्दा,सहयोग र भेटीको रकमबाट करिब १० करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार निर्माण भएको कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो ।

नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्रशिलामाथि अवस्थित यस शिलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र वृक्षले यसको धार्मिक महिमालाई उजागर गरेको छ । श्रीमद्भागवत् पुराणअनुसार श्री महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको नाम गलेश्वरधाम रहन गएको लिखित दस्तावेजमा उल्लेख भएको पाइन्छ ।