जिसस म्याग्दीको निर्वाचन असार ५ गते हुने

विकल्प न्यूज/बेनी
जेठ २४ गते ।

जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन आगमी असार ५ गते हुने भएको छ । जिल्लासभाको निर्णय अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले असार ५ गते आइतबारका दिन निर्वाचन गर्ने गरी समय तालिका सार्वजनिक गरेको छ ।
जिससको प्रमुख उपप्रमुख सहित नौ सदस्यीय समितिका लागि निर्वाचन गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी थालेको छ । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलका अनुसार २३ गते मतदाता नामावली प्रकाशन भएको छ ।
२४ गते मतदाता नामावली सच्याउने वा छुट नाम समावेश गर्न दरखास्त दिने, २५ गते संशोधित मतदाताको नामावली प्रकाशन गर्ने, २६ गते मतदाताको विरोधमा उजुरी दिने, २७ गते उजुरी उपर जाँचबुझ गर्ने र २८ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
त्यसैगरी असार १ गते उम्मेदवारको मनोनयन दर्ता संगै उम्मेदवारको सूची प्रकाशन गर्ने रहेको छ । २ गते उम्मेदवार उपर उजुरी, सोहि दिन जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, ३ गते उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशनसंगै उम्मेदारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।
६ स्थानीय तह रहेको जिल्लामा निर्वाचित पालिका प्रमुख र उपप्रमुखको संख्या अनुसार जिससमा नेकपा एमालेको बहुमत देखिएको छ । निर्वाचन कार्यविधी अनुसार ६ स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले जिल्ला समन्वय समिति निर्वाचनको मतदाता हुनेछन् । जिल्ला समन्वय समितिका लागि १२ मत मध्ये ७ मत नेकपा एमालेको रहेको छ भने गठबन्धनतर्फ नेपाली काँग्रेसको ३ मत र नेकपा माओबादीको दुई मत रहेको छ ।
जिसस प्रमुखका लागि नेकपा एमालेतर्फबाट पार्टीका जिल्ला उपसचिव एवम् बेनी नगरपालिका वडानम्वर १ वडासदस्यमा निर्वाचित राजकुमार थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । जिससका लागि ६ वटै स्थानीय तहलाई समेटेर ९ जनाको उम्मेदवार तय गरिने नेकपा एमाले म्याग्दीका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।