चासोका साथ हेरिएको बेनी नगर कार्यपालिकाको पहिलो वैठक कहिले ?

विकल्प न्यूज/बेनी
जेठ १९ गते ।

जिल्लाको एकमात्र बेनी नगरमा कार्यपालिकाको पहिलो वैठक कहिले होला भन्ने आम नगरवासीको चासो छ । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिहरुको पहिलो वैठकले के कस्ता निर्णयहरु गर्ला भनेर स्वदेश तथा विदेशमा रहेका नगरवासीहरुले चासोका साथ हेरेका छन् ।

नगर कार्यपालिकाको पहिलो वैठक यही जेठ २३ गते सोमबार तय भएको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले बताउनुभयो । १५ गते भएको कार्यपालिकाको निर्वाचनबाट कार्यपालिकाले पूर्णता पाएका सँगै वैठकको मिति तय गरिएको उहाँले बताउनुभयो ।

नगरवासीहरुले नगरकार्यपालिकाको वैठकलाई लाइभ गर्नुपर्ने आवाज उठाएका छन् । तर नगरपालिकाले यसवारेमा कुनै योजना नबनाएको नगर प्रमुख सुरत केसीले बताउनुभयो । कार्यपालिकाको पहिलो वैठकबाट नै यसवारेमा निर्णय हुनसक्ने उहाँले बताउनुभयो ।

सोमबार वस्ने कार्यपालिकाको वैठकमा पदभार ग्रहण गर्दा गरिएका निर्णय कार्यान्वनय,प्रवक्ता तोक्ने,विषयगत समितिका सदस्यहरु तोक्ने,राजश्व परामर्श समिति गठन,स्रोत अनुमान तथा बजेट निर्धारण समिति,बजेट तथा कार्यक्रम तर्जुमा समिति,मनसुन जन्य विपदका लागि डोजर भाडामा लिने प्रस्ताव,ढुङ्गा गिटी सम्बन्धी वातावरणीय अध्ययन र विविध प्रस्तावहरु रहेको प्रमुख केसीले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएपनि राजनैतिक शक्तिका आधारमा सत्ता गठबन्धन बहुमतमा छ । हालै भएको बेनी नगरकार्यपालिकाको निर्वाचनमा सत्ता गठबन्धन विजयी भएपछि कार्यपालिकामा गठबन्धन थप बलियो बनेको छ । २० सदस्य कार्यपालिकामा गठबन्धन(काँग्रेस,माओवादी र नेकपा एकिकृत समाजवादी) तर्फ १४ जना र एमालेका ६जना सदस्य छन् ।

एमालेले प्रमुख जितेपनि नगरसभा र कार्यपालिकामा अल्पमतमा छ । हुनत स्थानीय तहमा प्रतिपक्षको परिकल्पना नगरिएकाले निर्वाचित सवैजना सत्ता पक्षनै हुन्छन् ।

शक्तिका हिसाबले प्रमुखलाई धेरै अधिकार प्रदान गरिएको छ । नगर कार्यपालिकाको पहिलो वैठक सौहार्द रुपमा सम्पन्न हुन्छ वा हुँदैन यसले नै बेनी नगरको आगमी बाटो सहज कि असहज तय गर्ने छ । बहुमत र अल्पमत भन्दा पनि मिलेर बेनी नगरको विकास र समृद्धिको बाटोमा जनप्रतिनिधिहरु हिड्ने नगरवासीको विश्वास र अपेक्षा छ ।