ताजा समाचार:
Search

बेनी नगरपालिकामा एमालेको चुनावी सभा र घरदैलो तिव्र

विकल्प न्यूज/बेनी
बैशाख २३ गते ।


नेपाल कम्युनिष्ट पार्टी (एमाले) बेनी नगर कमिटीको आयोजनामा आज (बिहीबार) बेनी नगरपालिका–५, पुलाचौरको चिप्लेटी र काउलेमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । यही वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर एमालेको चुनावलक्षित कार्यक्रम गरिएको हो ।

बेनी नगरपालिकामा मेयरका एमाले उम्मेदवार सुरत केसी, उपमेयरका उम्मेदवार पशुपति शाहीसहित पुलाचौरको वडा अध्यक्षका उम्मेदवार गोविन्द बानियाँ, सदस्य पदका उम्मेदवारहरु डम्मरबहादुर बानियाँ, देवीदत्त पौडेल, दुर्गा पौडेल र मनिसा नेपालीसहित एमालेका नेता एवं कार्यकर्ताको टोलीले चिप्लेटीको विभिन्न टोलमा पुगेर मतदाता भेटघाट गर्नुका साथै घरदैलो गरेका हुन् ।

यसअघि पुलाचौरको नयाँगाउँ, गाजने, पुलाडाँडालगायत टोलमा पनि घरदैलो र मतदाता घेटघाट कार्यक्रम गरिएको थियो । चिप्लेटीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमपछि बेनपा–४, सिङ्गा तातोपानीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापाले विकासको च्याम्पियन पार्टी एमालेलाई भोट दिएर जिताउन मतदातालाई आग्रह गर्नुभयो । उहाँले नेकपा एमाले र एमालेका उम्मेदवारसँग देश विकास गर्ने स्पष्ट भिजन भएकाले आसन्न निर्वाचनमा एमालेका उम्मेदवाहरुलाई विजयी बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले गाउँगाउँमा बजेट पठाउने, ज्येष्ठनागरिकलाई सामाजिक सुरक्षाभत्ता दिने, विकास निर्माणलाई तीव्र गतिमा अगाडि बढाउने र स्वदेशमै युवा स्वरोजगारको सिर्जना गर्नका लागि पनि एमालेको पक्षमा मतदान गनुपर्ने आवश्यकता औंल्याउनुभयो । एमाले गण्डकी प्रदेश सदस्य प्रमोद श्रेष्ठले यसअघि बेनी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले जितेको भए पनि पाँच वर्षको अवधिमा खासै काम गर्न नसकेको बताउँदै अहिलेको निर्वाचनमा एमालेका उम्मेदवारले जित्नुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिकाको मेयरका उम्मेदवार सुरत केसीले सम्बोधन गर्दै नगर क्षेत्रको विकास गर्न र नागरिकको पक्षमा काम गर्न नेकपा एमाले र आफू नेतृत्वको टिमलाई भोट दिएर जिताउन अपिल गर्नुभयो । उहाँले बेनी नगरपालिका भित्रका युवाहरुलाई सिपमूलक तालिमको साथै स्वरोजगारको सिर्जना गर्ने तथा आयआर्जन वृद्धि र आत्मनिर्भर बनाउने खालका विभिन्न विकासे योजनाहरु सञ्चालन गर्ने बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै उपमेयरका उम्मेदवार पशुपति शाहीले नगर क्षेत्रभित्र छरिएर रहेका आमा समूहहरुलाई एकीकृत गरी उपमेयरसँग महिला कार्यक्रम सञ्चालन गर्ने, महिलाहरुको आर्थिक सशक्तिकरण गर्न विभिन्न सिप तथा व्यवसायमूलक कार्यक्रममार्फत आत्मनिर्भर बनाउनेलगायत महिला तथा बालबालिकाहरुको पक्षमा काम गर्ने योजना रहेको सुनाउनुभयो ।

सिङ्गाका वडा अध्यक्षका उम्मेदवार देवेन्द्रबहादुर बानियाँले पाँच वर्षमा वडाको मुहार फेर्ने योजनासहित आफ्नो टिम निर्वाचनमा होमिएको बताउनुभयो । कार्यक्रमको अवसरमा मेयर, उपमेयर, वडाध्यक्ष बानियाँसहित सदस्य उम्मेदवारहरु कविता गुरुङ, देवी सार्की, ईश्वरसिं खत्री र खेमराज पौडेलले घरदैलो समेत गर्नुभएको थियो ।

एमाले गण्डकी प्रदेश कमिटी सदस्य खुमबहादुर बानियाँको विशेष उपस्थिति रहेको चुनावी आमसभा कार्यक्रम एमाले तातोपानीको टोल कमिटीका अध्यक्ष तुलप्रसाद श्रेष्ठको अध्यक्षता, बेनी नगर कमिटी सचिव सुवास विश्वकर्माको सञ्चालन र सिङ्गाका वडाध्यक्ष गोविन्दप्रसाद पौडेलको स्वागतमा सम्पन्न भएको थियो ।