चारैजना अब्ल महिला नेतृ ः कसले जित्ला चुनाव ?

विकल्प न्यूज/बेनी
बैशाख १४ गते ।


बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको उपमेयरमा एउटै वडाका ४ जना महिलाहरुले उम्मेदवारी दिनुभएको छ । उपमेयरमा मनोनयनदर्ता गराउनु भएकी पशुपतिशाही, अमृतदेवी बानियाँ, ज्योति लामिछाने, र मुना बानियाँ एउटै वडाको हुनुहुन्छ । फरक फरक राजनीतिक दलका तर्फबाट उपमेयरमा मनोनयन दर्ता गर्नुभएका उहाँहरु बेनी नगरपालिका ६ निवासी हो ।

शाहिले नेकपा एमालेबाट, बानियाँले नेपाली काँग्रेसबाट, लामिछानेले नेकपा माओवादीबाट र अर्की बानियाँले नेकपा एकिकृत समाजवादीबाट उपमेयरमा मनोनयन दर्ता गराउनुभएको छ ।

उपमेयरमा उम्मेदवारी दिनुभएका चारै जना सक्षम र योग्यव्यक्ति हुन । चारैजना महिलाहरु राजनीतिक र वैचारिक रुपमा खरिएका छन् । चारैजनाकाबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । उपमेयरको उम्मेदवार बन्नुभएकी माओवादी नेतृ लामिछाने अघिल्लो स्थानीय तहको निर्वाचनमा झिनो मतान्तरले पराजित हुनुभएको थियो ।

नेकपा एमाले बाट उपमेयरको उम्मेदवार बन्नु भएकाशाही बेनपा ६ जामुनाखर्क निवासी हुनुहुन्छ । उहाँ पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य तथा अनेमसंघका जिल्ला उपाध्यक्ष र अन्तरपार्टी महिला संजालकी जिल्ला अध्यक्ष हुनुहुन्छ ।

सानै उमेरदेखि राजनीतिमा सक्रिय शाही निडर लिडरको पहिचान बनाउनुभएको छ । गाउँको सामुदायिक बन, बिद्यालय व्यवस्थापन समिति, आमा समुह, तथा विभिन्न संघसंस्थामा आवद्ध भई सामाजिक कार्यहरुमा क्रियाशिल शाही जनताको सेवा र नगरको समृद्धिका लागि उपमेयरमा उम्मेदवारी दिएको बताउनुहुन्छ ।

त्यस्तै नेपाली काँग्रेसबाट उम्मेदवार बन्नुभएका बेनपा ६ छाप निवासी बानियाँ नेपाली काँग्रेसको गण्डकी प्रदेश समिति सदस्य हुनुहुन्छ । २०५४ सालमा वडा नम्वर ९ अर्थुङ्गेको वडा सदस्यमा निर्वाचत हुँदै राजनीति सुरु गर्नुृभएको बानियाँ काँग्रेसको दुई कार्यकाल जिल्ला सदस्य र दुईपटक महाधिवेशन प्रतिनिधि भईसक्नुभएको छ ।

साथी संस्था, लायन्स क्लव, महिला स्वयमसेवीका लगायतका भुमिका तथा जिम्मेवारीमा रहेर सामाजिक अभियन्ताको रुपमा सक्रिय बानियाँ सेवा र सशक्तिकरणका निम्ती उपमेयरमा आफ्नो उम्मेदवारी रहेको बताउनुहुन्छ ।

नेकपामा ओवादीबाट उम्मेदवार बन्नुभएका ज्योति लामिछाने पनि बेनपा ६ थाकनपोखरी निवासी हुनुहुन्छ । हाल नेकपामा ओवादीको प्रदेश कमिटी सदस्य लामिछानेले अखिल क्रान्तीकारी बिद्यार्थी संगठनबाट राजनीति सुरु गर्नुभएको थियो ।

२०६० साल देखि निरन्तर राजनीतिमा सक्रिय लामिछाने हाल विभिन्न संघसंस्थामा समेत आवद्ध हुनुहुन्छ । लामिछाने यस अघिको निर्वाचनमा उपमेयर पदमा नै ३४ मतले पराजित हुनुभएको थियो ।

त्यस्तै नेकपा एकिकृत समाजवादीबाट उम्मेदवार बन्नुभएकी मुना बानियाँ पार्टीको केन्द्रीय कमिटी सदस्य एवम् जिल्ला इन्चार्ज हुनुहुन्छ । २०४८ साल देखि नेकपा एमालेको राजनीतिमा सक्रिय बानियाँ जिल्लाको स्थापित महिला नेतृ हुनुहुन्छ । उहाँ नेकपा एमालेको प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो । ७ महिना अघि पार्टी विभाज नहुँदा बानियाँ माधव नेपाल नेतृत्वको एकिकृत समाजवादीमा लाग्नुभएको थियो ।