एमालेका उम्मेदवारहरुबाट बेनी नगरपालिकामा मनोनयन दर्ता

 विकल्प न्यूज/बेनी
बैशाख १२ गते ।

 आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेबाट बेनी नगरपालिकामा मेयरका उम्मेदवार सुरत केसी र उपमेयरका उम्मेदवार पशुपति शाहीले मनोनयन दर्ता गर्नुभएको छ । सोमवार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिमा गई उम्मेदवार केसी र शाहीले मनोनयन दर्ता गर्नुभएको हो ।

त्यस्तै वडा अध्यक्षका उम्मेदवारहरु क्रमशः बेनी नगरपालिका १ रत्नेचौर बाट टेक बहादुर थापा, २ ज्यामरुककोट बाट डम्मर सापकोटा, ३ भकिम्लीबाट गेम बहादुर घर्ति, ४ सिंगाबाट देबेन्द्र बहादुर बानियाँ, ५ पुलाचौरबाट गोविन्द बानियाँ, ६ अर्थुङ्गेबाट कृष्णसिंह बानियाँ, ७ बेनीबाट राजेन्द्र श्रेष्ठ, ८ बेनीबाट उत्तम कर्माचार्य, ९ घतानबाट मन बहादुर खड्का र १० पात्लेखेतबाट मस्विर रोकाले वडा सदस्यहरु सहित उम्मेदवारी दर्ता गराउनुभएको नेकपा एमाले बेनी नगरकमिटी अध्यक्ष नारायण जिसीले जानकारी दिनुभएको छ ।

मेयरमा उम्मेदवारी दर्ता गराउँदै केसीले बेनी नगरलाई समृद्ध बनाउनका लागि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको बताउनुभयो । उहाँले पार्टीले सार्वजनिक गरेको प्रतिवद्धतालाई अक्षरस पालना गर्दै शिक्षाको माध्यमबाट जातीय, बर्गीय, लैंगिक विभेदलाई न्यनिकरण गरि समाजका सवै नगरिकहरुलाई सक्षम बनाउने बताउनुभयो ।
पैसा होइन पेशा दिनुपर्छ भन्ने मान्यताका साथ नगरबासीको आर्थिक स्तरलाई सवल र समृद्ध बनाउने योजना अघि सारेको केसीको भनाई थियो । उहाँले बेनीको मेयरमा नगरवासीले विश्वास गरेर जिताईदिनुभयो भने सधै स्वयमसेवीको भूमिकामा रहेर जनताको सेवा गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

मनोनयन दर्ताका लागि पार्टी कार्यालय हाँडेभिरबाट बाजागाजा सहितको ¥याली मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो ।